नेपालका शाह बंशीय राजाहरूले प्रयोग गरेको श्रीपेचको मूल्य कति हो ?

श्रीपेचमा के के मूल्यवान बस्तु छन् ? मूल्य तय हुन नसक्दा श्रीपेचको बिमा गर्न हुन् सकेन



पूर्व राजाहरूले गद्धी आरोहणका समयमा पहिरिने श्रीपेचको मूल्य कति होला? देशमा राजतन्त्रको अन्त्य भएसँगै बन्द कोठामा सिमित

शाह बंशीय राजाहरूले लगाएका श्रीपेचको मूल्य कति हो तय भएको छैन। मूल्य तय हुन नसक्दा श्रीपेचको बिमा गर्ने काममा अवरोध आएको छ।

नारायणहिटी दरबार संग्राहलयले हालै श्रीपेचको बिमा गर्न प्रक्रिया अगाडि बढायो। प्रिमियम तोक्न बिमा गर्न खोजिएको सामानको मूल्य तय हुनुपर्छ। ‘मूल्य तय हुन नसक्दा बिमा प्रक्रिया बिचमै रोक्नुपर्‍यो,’ नारायणहिटी दरबार संग्राहलयका प्रमुख रोहितकुमार ढुंगानाले  भने।

तीन वर्षअघि दरबार संग्रहालयका तत्कालिन पूर्व प्रमुख लेखबहादुर कार्कीले बिमाको प्रक्रिया सुरू गरेका थिए।

‘बिमा कम्पनीले यसको मूल्य तय गर्न भनेपछि यसलाई हामीले बहुमूल्य भएको बतायौं। तर, कति हो भन्न सकेनौ,’ दरबार संग्रहालयका प्रमुख ढुंगानाले भने।



‘यसमा समावेश गरिएका बस्तुहरूको मूल्य निकाल्न सकिएला तर त्यसले श्रीपेचको मूल्य प्रतिनिधित्व गर्न सक्दैन,’ ढुंगानाले भने।
राष्ट्रिय बिमा कम्पनी लिमिटेड कुनै पनि वस्तुको मूल्य तय नभई त्यसको बिमा गर्न नसकिने बताउँछ। ‘मूल्य तय नभएको बस्तुको बिमा गर्न सकिँदैन, त्यसैले श्रीपेचको मूल्य सोध्यौ उँहाहरूले बहुमुल्य भन्नुभयो तर, ठ्याकै तोक्न सक्नुभएन।’
नारायणहिटी दरबार संग्रहालयमा अहिले पूर्व राजाहरुले प्रयोग गर्ने बिभिन्न सामानहरू सार्वजनिक गरिएका छन्। तर श्रीपेच भने हालसम्म सार्वजनिक गरिएको छैन।

२०६५ साल जेठ २९ गते पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्ने बेलामा श्रीपेच तत्कालिन गृहमन्त्री कृष्ण सिटौलाको जिम्मा लगाएका थिए। हाल भने यो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, नारायणहिटी दरबार संग्रहालयका प्रमुख र नारायणहिटी बाहिनीका कर्णेलको संरक्षणमा बन्द कोठमा रहेको छ।

आर्थिक वर्ष २०६८/०६९ मा क्याविनेटको निर्णयलेनै यसलाई दरबार संग्रहालयको प्रदर्शनी कक्षमा राख्ने निर्णय गरेको थियो। प्रदर्शनिमा राख्ने भनेसँगै यसको जोखिम बढेकाले तत्कालिन समयमा बिमा प्रक्रिया अघि बढाएको संग्रहालयका प्रमुख ढुंगानाले जानकारी दिए।
उनले भने,‘अब बिमा पनि गर्न नसकिए पछि श्रीपेच प्रदर्शनीमा राख्ने कुरा पनि हाललाई रोकियो।’
श्रीपेचमा के के मूल्यवान बस्तु छन्?

सुन, मोति, हिरा, पन्ना, चाँदी जस्ता बहुमूल्य धातुले बनेको सो श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाख राखिएको छ।

हुमायो चरा संसारबाटै लोप हुन लागेकाले श्रिपेचको पुनःनिर्माण असम्भव रहेको ढुंगानाको दाबी छ। ‘बिमा गर्ने भनेको क्षति पछि त्यसलाई पुनःनिर्माणको लागि हो, हुमायो संसारबाटै लोप हुने चरणमा छ जसका कारण यसको प्वाँख अब पाउन सकिँदैन। त्यसैले श्रीपेच फेरि बनाउन असम्भब छ।’

पुन बनाउन नसकिने भएकोले श्रीपेचको बिमा गर्न समेत आवश्यक नभएको तर्क उठेको ढुंगानाले बताए।

यसलाई सुरक्षित राख्नको लागि मात्रै ध्यान पुर्‍याउनु पर्ने उनको भनाई छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव, नारायणहिटी दरबार संग्रहालयका प्रमुख र नारायणहिटी बाहिनीका कर्णेलले अन्य मानिसहरुलाई समेत साक्षी राखेर अहिले वर्षको एक पटक बन्द कोठामा रहेको श्रीपेच निरीक्षण गर्ने गरिन्छ। साथै सोही समयमा यसको सरसफाई समेत गर्ने गरिन्छ।

यो श्रीपेच कुन राजाको पालामा निर्माण भएको हो र यसको डिजाइन कसले गरेको भन्ने भन्ने बारेमा कुनै कागजात नरहेको ढुंगानाको भनाई छ। ‘यो श्रीपेच त्रिभुवनको पालामा निर्माण भएको अनुमान लगाउन सक्छौ। तर, त्यसपछि प्रत्येक नयाँ राजाले यसमा आफू राजा बनेपछि यसमा बहुमूल्य धातु थप्दै गएका थिए।’

राजा पृथ्वीनारायण शाह आफैंले बनाउन लगाएको नुवाकोटमा रहेको उनको शालिकमा श्रीपेच लगाइएको छैन। नेपालमा कुन बेलादेखि यसको सुरूवात भयो भन्ने बारेृमा समेत इतिहासविदहरू एकमत देखिदैनन्।

श्रीपेच लगाउने रोमन संस्कृति कहिले नेपाल भित्रियो भन्ने बारेमा पनि यकिन छैन।

प्रेमलाल श्रेष्ठलाई आफैले बनाएको त्यो श्रीपेच फेरि एकचोटी हेर्न मन छ

प्रेमलाल श्रेष्ठलाई आफैले बनाएको त्यो श्रीपेच फेरि एकचोटी हेर्न मन छ
उनलाई आफूले बनाएको श्रीपेचको अभाव खट्कीरह्यो।

वरिपरि घेरा मोतीको हुन्छ, अगाडि हिरा जोडिएको छ, दायाँबायाँ राखिएको यो रूबि हो। माथिको यो ‘पाराडाइज’ चराको चुच्चो, यो बडी अनि यो प्वाँख हो’, उनले सिसामुनि राखिएको १०० रुपैयाँको नोटमा रहेको राजा वीरेन्द्रले पहिरिएको श्रीपेच हेरेर बयान गरे।

नेपाली झण्डा, टोपी, तक्मा, पदक अनि मिलिटरी पोशाकको उनको पसलबीचमा एउटा ठूलो फ्रेममा सजाइएको फोटो राखिएको छ। धेरैले चिन्छन, त्यो फोटोमा राजा वीरेन्द्र छन्। ‘अनि यो को हो?’, पसलमा आउने धेरै ग्राहकले प्रेमलाल श्रेष्ठलाई सोध्छन्। उनी नहिच्किचाई भन्छन्– म हो। गोरखा दक्षिण बाहु चौथो पदक पाउँदाको फोटो।
‘कसरी पाउनुभयो पदक?’ प्रश्न तेर्सिहाल्छ।

श्रेष्ठ गमक्क पर्दै उत्तर फर्काउँछन्– श्रीपेच बनाएकाले पाएको। सोध्नेले उनलाई एकछिन नियाल्छन्।
हो, प्रेमलालनै ति व्यक्ति हुन्, जसले शाह वंशीय राजाहरूले प्रयोग गरेको श्रीपेचको नयाँ स्वरुप बनाएका हुन्। पहिले त्यो श्रीपेच कहिले बनेको थियो, उनलाई थाहा छैन। उनलाई यत्ति थाहा छ, राजा वीरेन्द्रले शुभराज्यभिषेकमा उनले बनाएको श्रीपेच पहिरिएका थिए। त्यही श्रीपेच पछि ज्ञानेन्द्रले पनि पहिरिए। अहिले नारायणहिटी दरबार संग्रहालयको कोठामा त्यसलाई थन्क्याइएको छ।

***
नयाँ बानेश्वर, काठमाडौंका प्रेमलाल श्रेष्ठका हजुरबुवा टोपी, तक्मा, मिलिटरीका पोशाकको ब्यापार गर्थे। उनका बुवाले पनि त्यही ब्यापारलाई धाने। श्रेष्ठलाई सानैदेखि पुर्खौली व्यापारमा रूचि बढ्यो। उनले पनि परिवारकै पेशा समाते।

त्यही व्यापारले श्रेष्ठ परिवारको राजपरिवारसँग विश्वासको डोरी गासियो। मछिन्द्रबहाल, असनहुँदै अहिले ठमेल पुगेको उनको पसलबाट राजा महेन्द्र, वीरेन्द्र र युवराज दीपेन्द्रसम्म आफूलाई चाहिएको पोशाक मगाउँथे।

‘दीपेन्द्र सरकार त यहीँ आएर सामान किनेर लैजानुहुन्थ्यो’, श्रेष्ठले भने। पूरानो चिनाजानी, विश्वास अनि यस्तो काम गर्ने अरू थोरै भएकाले श्रेष्ठ परिवारलाई दरबारमा विभिन्न अवसरमा चाहिने सामानको जोहो गर्नुपर्ने हुन्थ्यो। ‘टेन्डर सेन्डर केही हुँदैन्थ्यो, जे चाहियो दरबारका मान्छे हामीलाई भन्थे, हामी बनाएर पुर्‍याइदिन्थौं। जति बिल पठायो त्यति नै पैसा पठाइदिन्थे,’ श्रेष्ठले भने।
राजपरिवारसँग श्रेष्ठ परिवारको सम्बन्ध कसिलो बन्दै थियो। २०२८ सालमा राजा महेन्द्रको निधनपछि वीरेन्द्रको राज्यारोहरण भयो। हनुमानढोका भित्रको नासल चोकमा उनले श्रीपेच पहिरिए। श्रीपेचले उनको टाउको च्यापेछ। तत्काललाई त्यही श्रीपेचले काम चलाएपनि अब ठूलो आकारको नयाँ श्रीपेच बनाउनुपर्ने कुरा चल्यो। दरबारमा चलेको कुरा प्रेमलालसम्म पुग्यो। उनले नै श्रीपेच ठूलो बनाउन सकिने सुझाए।

दुई जना कालिगढ लिएर दरबार गए। दरबारका प्रतिनिधिको रोहबरमा एक कोठामा उनीहरू श्रीपेच ठूलो बनाउने काममा जुटे। पहिलोचोटी बनाएर राजालाई दिए। तर त्यो राम्रो भएन।

‘लेफ्ट राइट गर्दा फेल भयो’, श्रेष्ठले भने। त्यसपछि राजा वीरेन्द्रले यहाँ नसकिने भयो अब इंग्लयाण्डमा बनाउन पठाउनु पर्‍यो भने। यता श्रेष्ठको निद चैनहराम भयो। उनले बेलायत पठाउनुभन्दा फेरि एक पटक मौका पाए राम्रो बनाउन सकिने जाहेर गरे।
‘बाहिर लगे सक्कली निकालेर नक्कली हालिदेला भन्ने पनि डर’ श्रेष्ठले आशंका पनि जाहेर गरे।

वीरेन्द्रलाई कुरा चित्त बुझ्यो। फेरि बनाउनू भन्ने आदेश दिए। दोस्रो चोटी बनाएको श्रीपेच पहिलेको भन्दा राम्रो भयो तर राजालाई चित्त बुझेन। फेरि बनाउन भने।

एकातिर राजाको चित्त बुझेको थिएन अर्कोतिर ‘मोतीको एउटा टुक्रा हरायो भने वा कालिगढले कतै कोतरिदियो भने’, श्रीपेच बनाउँदाका ती दिन सम्झदै श्रेष्ठले भने ‘कति पीर पर्थ्यो, कुरै नगर्नूस्।’

उनीहरुको तेस्रो प्रयास भने सफल भयो। करिब डेढ महिनासम्म मेहनत गरी बनाएको श्रीपेच राजा वीरेन्द्रले शुभराज्यभिषेकको दिन पहिरिए।

कस्तो देखिएको थियो त राजाको शीरमा तँपाइले बनाएको श्रीपेच?

‘खुब बढिया देखिएको थियो नि!’, उनले हाँस्दै भने।

श्रीपेच बनाएबापत् श्रेष्ठले दरबारबाट पारिश्रमिक लिएनन्। कालिगढलाई पनि आफैले ज्याला दिए। राजाले लगाउने श्रीपेच बनाएर तँपाइले के पाउनुभयो त? ‘इज्जत पाएँ नि’, उनले भने।

त्यो इज्जत त्यतिबेला झन बढ्यो जब २०३१ फागुन १२ गते राजा वीरेन्द्रले शुभराज्यभिषेक गरेको दिन साँझ भएको भोजमा उनीसँग एकछिन कुरा गरे।

‘सरकारले मसँग कुरा गरेको देखेर भोजमा आएका अरुलाई म पावरफुल मान्छे हुँ भन्ने लागेछ’, उनले भने। श्रीपेच बनाएको कदरस्वरुप उनलाई गोरखा दक्षिणबाहु चौथो पदक दिइयो। त्यसदिन आफूले गरेको कामको महत्व अझ बढी बोध भयो उनलाई। साँच्चै तक्मा पैसामा किन्न सकिदैनथ्यो।

त्यसपछि उनले बनाएको श्रीपेच पहिरिएका राजाको तस्बिरसहितको नोट बजारमा आयो।
‘त्यो श्रीपेच भएका सबै नोट मलाई प्यारा लाग्थे।’

दरबारमा उनको आवातजावत भइरहन्थो। अनौपचारिक, पारिवारीक कुराकानी हुन्थे। ०४६ सालमा व्यवस्था परिवर्तन भयो। बहुदल आएपछि राजा संवैधानिक बने। तर, उनको ब्यापारमा कमी आएन। किनकि दरबारको महत्व घटेको थिएन। उनी ब्यापारमै ब्यस्त भए।

२०५८ जेठ १९ गते राति भएको नारायणहिटी हत्याकाण्डले उनलाई आहात बनायो।
‘खबर सुनेको दिन कति पीडा भयो तपाईंलाई शब्दमा भन्न सक्तिन्नँ’, उनले भने। त्यसपछि दरबारमा उनको आवातजावत पातलिँदै गयो।

ज्ञानेन्द्र शाह नयाँ राजा बने। श्रेष्ठलाई उनी बिराना पनि लागे। राजामात्र होइन उनलाई दरबार नै बिरानो लाग्न थाल्यो।
‘भगवानको लीला सम्झेर म ब्यापार सम्हाल्न तिर लागेँ’, उनले भने। पहिलेदेखि चिनेका दरबारका अधिकारी सामान चाहियो भने लिन आउँथे उनी माग बमोजिम दिएर पठाउँथे।

अब दरबारसँग प्रेमलालको साइनो विश्वासको डोरीबाट फुत्किएर हिसाब किताबको खातामा झर्यो।
***

यो श्रीपेचलाई कति पर्छ? उनको पसलमा बेच्न राखेको श्रीपेच देखाएर मैले सोधें।

‘२ सय ५० रुपैयाँ पर्छ’, उनले भने।

अनि तपाईँले बनाएको त्यो सक्कली श्रीपेचको कति पर्छ होला?

‘त्यसको मूल्य त भन्न सकिन्नँ,’ उनले भने।

उनैले बनाएका दुई श्रीपेचका मूल्यको बीचको यो फासला ‘राजा-प्रजा’ जत्रै छ!

२०६५ जेठ १५ गते आजैका दिन राजा ज्ञानेन्द्रले त्यो श्रीपेच र राजदण्ड ‘जनताको नासो जनतालाई फिर्ता गर्‍यौं’ भनेर तत्कालीन नेपाल सरकारलाई हस्तान्तरण गरे।

राजसंस्थाको प्रतिकको रूपमा रहेको श्रीपेच अहिले नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ। तर सर्वसाधारणले श्रीपेच हेर्न पाउदैनन्। केही समय अघि बिमा गर्न खोज्दा बिमा कम्पनीले त्यसको मूल्य सोधे। संग्रहालयले भन्न सकेन।

सायद ईतिहास बनेको श्रीपेचको तुलना पैसासँग हुँदैन। बिमा प्रक्रिया रोकिएसँगै सर्वसाधरणले श्रीपेच हेर्न पाउने कुराको टुंगो छैन।
श्रेष्ठलाई भने आवश्यक सुरक्षा व्यवस्था मिलाई श्रीपेच सबैलाई देख्नुपर्ने ठाउँमा राख्नुपर्छ भन्ने लाग्छ। व्यवस्था परिवर्तन भएर गणतन्त्र आएकोमा उनलाई कुनै गुनासो छैन्, ‘सबैको भलो यसैमा हुन्छ भने किन हामीले यस्तो उस्तो भन्नु’, उनले भने।

दरवारसँग अब उनको कुनै मोह रहेन। उनलाई श्रीपेच भने एकचोटी हेर्न मन छ। संग्रहालय बनेपछि उनी दरबार घुम्न गएका थिए। संग्रहालयमा भएका सबै चिज हेरे। उनलाई आफूले बनाएको श्रीपेचको अभाव खट्कीरह्यो।

जीवनका साढे सात दशक काटिसकेका श्रेष्ठलाई आफूले गरेका काममध्ये त्यही श्रीपेच बनाएको काममा गर्व लाग्छ। उनकै शब्दमा ‘सौभाग्यवस’ बनाएको सो श्रीपेच फेरि हेर्ने इच्छा छ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment