एमालेले गर्यो प्रमुख निर्वाचन आयुक्त यादवविरुद्ध महाअभियोग लगाउने यस्तो तयारी, सांसदहरुद्धारा हस्ताक्षर संकलन,यादव सत्तापक्षको मतियार बनेको एमालेको आरोप

काठमाडौं,  जेठ । प्रमुख विपक्षी नेकपा एमालेले प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवमाथि महाअभियोग दर्ताको तयारी गरेको छ । एमाले उच्च स्रोतका अनुसार महाअभियोग प्रयोजनका लागि पार्टीका सांसदहरुको हस्ताक्षर संकलन गरिएको छ । चितवनको भरतपुर महानगरपालिका १९ नम्बर वडामा पुनः निर्वाचन गराउन खोजेको भन्दै एमालेले यादवविरुद्ध महाअभियोगको तयारी गरेको एक नेताले बताए । एमालेले भरतपुरको रोकिएको मतगणना तत्काल अघि बढाउन माग गर्दै आएको छ ।

सोही माग राखेर एमालेले व्यवस्थापिका–संसद बैठक अवरुद्ध गर्दै आएको छ । सत्तारुढ काँग्रेस–माओवादी गठबन्धनले भने उक्त वडामा पुनः मतगणना गराउन माग गरेको छ । ‘सत्तापक्षको मतियार बनेर पुनः निर्वाचन गराउने निर्णय गरे प्रमुख निर्वाचन आयुक्तविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ’, ती नेताले भने, ‘हस्ताक्षर संकलन गरेर ठीक्क पारेर राखेका छौं । जतिबेला आयोगको निर्णय आउँछ, त्यति नौ बेला महाअभियोग दर्ता हुन्छ ।’ संसदमा तत्काल कायम सदस्य संख्या (५९३) को एक चौथाई (१५७) जनाले महाअभियोग दर्ता गर्न सक्छन् । त्यसका लागि एमाले एक्लै काफी छ । एमालेका संसदमा १ सय ८१ सांसद छन् । एक चौथाईले महाअभियोग दर्ता गरे यादव तत्काल पदबाट निनम्बनमा पर्नेछन् । यसअघि बर्खस्तीमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्की र प्रधानन्यायाधीश सुशीला कार्की महाअभियोग दर्ता भएसँगै निलम्बनमा परेका थिए । अख्तियार प्रमुख कार्की महाअभियोग प्रस्तावमा संसदले निर्णय नगर्दै अयोग्यतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट बर्खास्तीमा परेका थिए । सुशीलाको भने सर्वोच्चले महाअभियोग प्रस्ताव नै खारेज गरिदिएकाले उनी पुनः अदालत फर्केकी थिइन् । भरतपुर महानगरको मतगणनाका क्रममा एमाले र माओवादी गणकबीच विवाद हुँदा गत आइतबार राति ९० वटा मतपत्र च्यातिएको थियो । एमालेले माओवादी कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाउँदै आएको छ । काँग्रेस–माओवादी गठबन्धनले भने एमाले मेयरका उम्मेदवार देवी ज्ञवाली पराजित हुने भएपछि एमालेले नै षड्यन्त्रपूर्वक मतपत्र च्यातेको आरोप लगाउँदै आएका छन् ।
मतपत्र च्यातिएको घटना छानबिनका लागि आयोगले सह–महान्यायाधिवक्ता गीताप्रसाद तिमल्सिना नेतृत्वमा गृह मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका डिआईजी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले घटनास्थलको स्थगगत अनुगमनका साथै प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा जिल्लास्थित राजनीति दलका प्रमुखलगायतसँग सोधपुछ गरेर प्रतिवेदनसमेत बुझाइसकेको छ । तर, निर्वाचन आयोगले भने मतगणना सुरु गर्ने वा पुनः निर्वाचन गर्ने भन्ने निर्णय गर्न सकेको छैन । एमालेले आयोग र उसले गठन गरेको छानबिन समितिको निस्पक्षतामा प्रश्न उठाउँदै आएको छ ।काठमाण्डु टुडेबाट
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment