आण्टी-आण्टी भन्दै ढोका ढक्ढकायो, मैले ‘को हो ?’ भनेर सोध्दा ‘म प्रसादे हुँ देशबाट आएँ, ढोका खोल’ भन्यो ।


आण्टी-आण्टी भन्दै ढोका ढक्ढकायो, मैले ‘को हो ?’ भनेर सोध्दा ‘म प्रसादे हुँ देशबाट आएँ, ढोका खोल’ भन्यो । उहाँ सुतेकै हुनुहुन्थ्यो, मैले ढोका खोलिदिएँ । ढोका खोल्नासाथ एकाएक चार/पाँच जना भित्र पसेर उहाँलाई कुट्दै लगे ।’

गएको बुधबार मध्यरातमा आफ्नो घरमा भएको घटना सम्झँदै डोटी दिपायल सिलगढी-८ लडागडाकी लाली आउजीले यसरी सुनाइन् कहानी । त्यो क्षण सम्झिँदै उनले भनिन्, ‘अब मेरो श्रीमान्लाई मार्‍यो यिनीहरुले भन्ने लागेको थियो । धन्न बच्नु भयो ।’

त्यो राति भएको घटनाबारे कुराकानी गर्न खोज्दा पीडित परिवार सुरुमा तयार देखिएनन् । तर, लालीले आफ्नो मनको बह रोक्न सकिनन् । उनी भन्दै थिइन्, ‘उहाँलाई नकुट्नु भन्दा मलाई पनि हातपात गरे, मेरो बुढी सासुलाई पनि लछारपछार गरे ।’

उनले अघि भनिन्, ‘हाम्रै घरभित्रबाट नाम्लो लिएर श्रीमान्का हातखुट्टा बाँधेर लगे । रोएँ, कराएँ, अनुरोध गरेँ, बरु मलाई मारिदिनु मेरो खसमलाई केही नगर्नु भने तर, पनि मानेनन् । म गाडीको अगाडी गएर बाटो छेक्न लाग्दा गाडी चालकले झण्डै च्याप्ला जसो गरी लग्यो । तिनीहरु पापी थिए ।’

बुधबार मध्यराति भारतीय प्रहरी टोलीले लालबहादुर आउजीको घरभित्र पसी उनलाई कुटपिट गर्दै नाम्लोले बाँधेर लगेका थिए । घटनाबारे स्थानीयले जानकारी पाएपछि तत्काल प्रहरीलाई खवर भयो ।

नजिकै रहेको ईलाका प्रहरी कार्यालयले अपहरणकारी भारतीय प्रहरी चढेको गाडी नियन्त्रणमा लिन सकेन । जिल्ला प्रहरी कार्यालयमा खबर गरियो । जिल्ला प्रहरी कार्यालयले भने नियन्त्रणमा लियो ।

लामो समयसम्म दक्षिण भारत कर्नाटक राज्यको मेङ्गलुरु बजारमा चौकीदारी गर्ने लालबहादुर २०७३ साल असार १ गते घर पुगेका थिए । त्यसपछि उनी गाउँमा मजदुरी गर्न लागे ।

एक बर्षअघि भारत छोडेका उनीमाथि चार महिनाअघि भारतमा चोरी गरेर आएको भन्दै कर्नाटक प्रहरीको टोलीले उपद्रो मच्चायो । हातखुट्टा बाँधेर गाडीमा राख्दासम्म पनि लालबहादुरलाई जानकारी थिएन, उनको कसुर के हो ? । न त भारतीय प्रहरीको सुराकी बनेर आएका उनकै भतिजा नाता पर्ने प्रसाद पार्कीले बताउन भ्याएका थिए ।

‘एकोहोरो कुटपिट भयो, हातखुट्टा बाँधे’ उनले भने, ‘गाडीमा राख्नुभन्दा पहिले मुखमा टेप लगाईदिने, अनि मैले न बोल्न पाएँ न चिच्याउन ।’ जिल्ला प्रहरी कार्यालयमा पुगेपछि मात्र अपहरणकारीहरु त भारतीय प्रहरी पो रहेछन् भन्ने थाह पाए उनले ।

आफूलाई लागेको आरोपबारे उनले भने, ‘न मैले चोरी गरेको छु, न मलाई चोरी भएको थाहा छ । म एक बर्ष पहिले घर आएँ, चोरी भएको जम्मा चार महिना मात्रै भयो भन्ने सुनिन्छ, अनि म कसरी चोर भएँ ?’

हातखुट्टा बाँधेर गाडीमा राख्दै गर्दा श्रीमतीले प्रतिकार गरेपछि उनलाई पनि मारिदिनु भनेको सुन्दा आफू निकै डराएको लालबहादुरले बताए ।

सवारी चालकप्रति निकै आक्रोसित देखिन्छन् लालबहादुर । कैलालीको धनगढीबाट आएका चालक राजेश बागचनलाई नेपाल प्रहरीले गाडी रोक्न आग्रह गर्दा समेत नमानेकोप्रति आक्रोस पोख्दै लालबहादुर भन्छन्, ‘यस्तालाई कारवाही हुनु पर्ने हो ।’

अपहरणकारीहरु र गाडी चालकले नेपाल प्रहरीलाई समेत घुस दिन खोजेको तर, प्रहरीले हतियार देखाएपछि मात्रै गाडी राकेको लालबहादुर बताउँछन । ‘मलाई प्रहरीले बचायो’ उनी भन्छन् ‘नेपालको प्रहरीले मसँग राम्रो व्यवहार गर्‍यो ।’

अपहरणकारीहरुलाई कारवाही हुने आशा राखेका थिए उनले । तर, उनी जिल्ला प्रहरी कार्यालयबाट बाहिर निस्कनु भन्दा पहिलेनै भारतीय प्रहरी भारत पुगिसकेका थिए ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment