राजेश हमालकी श्रीमती मधुलाई सुहागरातको विषयमा सोधियो प्रश्न : राजेश मुस्कुराए, मधु लाजले भुतुक्कै

काठमाडौँ । नेपाली सिने उद्योगका स्टार नायक हुन् राजेश हमाल । ०४६ सालमा ‘युगदेखि युगसम्म’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले अहिलेसम्म झन्डै तीन सय सिनेमामा अभिनय गरिसकेका छन् । त्यसमध्ये ४० प्रतिशत सिनेमा हिट रहेको उनको दाबी छ । नेपाली सिनेमा र उद्योगलाई व्यावसायिक बनाउन पनि हमालको महत्वपूर्ण भूमिका छ । लामो समय एक्लै रहेका उनले तीन वर्षअघि मात्रै बिहे गरे । चलचित्र क्षेत्रमा अढाई दशकभन्दा लामो समय बिताइसकेका हमाल वेला–वेलामा विवाद र चर्चामा पनि आइरहन्छन् । अभिनेता हमालका बानी र स्वभावबारे पत्नी मधु भट्टराईलाई नयाँ पत्रिकाका खगेन्द्र पन्तले १०१ प्रश्न सोधेका छन्:



पहिलो भेटमा ‘डान्स गरौँ’ भन्नुभयो

१. पहिलोपल्ट कहाँ भेट भयो दुईजनाको ?

हयात होटेलमा आयोजित लक्स ब्युटी स्टार कन्टेस्टमा म सहभागी थिएँ । उहाँ त्यो कार्यक्रमको जज हुनुहुन्थ्यो । पहिलोपटक त्यहीँ भेट भएको हो ।

२. बोलचाल पहिलो भेटमै भयो कि पछि ?

त्यही कार्यक्रममै भयो । उहाँले मलाई जजका रूपमा प्रश्न सोध्नुभएको थियो । कार्यक्रम सकिएपछि भएको पार्टीमा ‘डान्स गरौँ’ भन्नुभयो । हिल जुत्ताले मेरो खुट्टामा घाउ भएको थियो, ‘नाच्न सक्दिनँ’ भनेँ । छुट्टिने वेला उहाँले आफ्नो कार्ड दिनुभयो ।

३. त्यसपछि कहिले भेट भयो त ?

पाँच–सात दिनपछि मैले उहाँको नम्बरमा फोन गरेँ । संयोगले त्यसको भोलिपल्ट उहाँको जन्मदिन रहेछ । झापातिर हुनुहुन्थ्यो । उहाँले ‘भोलि काठमाडौं फर्किंदै छु, भोलि मेरो जन्मदिन पनि हो, सँगै डिनर गरौँ’ भन्नुभयो । म पनि तयार भएँ । हाम्रो पहिलो डेटिङ नै त्यही हो ।

४. कहाँ भेट्नुभयो ?

सांग्रिला होटेलमा भेटेर डिनर गर्यौँ, धेरैबेर बस्यौँ । म त्यतिवेला महालक्ष्मीस्थान बस्थेँ, उहाँले मलाई ड्रप गरिदिनुभयो ।



५. प्रेम प्रस्ताव कसले पहिला राख्नुभयो ?

हामीले प्रेम प्रस्ताव नै राख्नुपरेन । व्यवहारबाटै एक–अर्काले बुझ्यौँ ।

६. डेटिङ कत्तिको गर्नुहुन्थ्यो ?

सांग्रिलाको भेटघाटपछि म धरान फर्किएँ, फोनमा, इमेलमा कुराकानी भइरहन्थ्यो । काठमाडौं आउँदा वेलावेला डिनर, लन्च सँगै गर्ने गरी भेटघाट गथ्र्यौँ ।

७. कसैले थाहा पाउला भन्ने डर कत्तिको लाग्थ्यो ?

त्यस्तो डर लाग्दैनथ्यो ।

८. तपार्इंहरूले बिहे कहिले गर्नुभयो ?

१० जेठ ०७१ मा हामीले प्रेमविवाह गरेका हौँ ।

९. उहाँले सुहागरातको फोटो पनि सामाजिक सञ्जालमा राख्नुभयो नि ?

(हाँसो) राख्नुभएको रहेछ, तर मलाई थाहा थिएन । लन्डनमा दिदी हुनुहुन्छ, उहाँले फोन गरेर भनेपछि मात्रै मैले थाहा पाएँ ।

१०. तपाईंसँग सल्लाह गर्नुभएको थिएन र ?

फोटो खिचेको त थाहा छ, तर राखेको थाहा थिएन । सायद उहाँले आफ्ना फ्यानहरूलाई सन्देश दिन त्यो फोटो राख्नुभएको थियो होला ।

११. घरपरिवार, आफन्त, शुभचिन्तकबाट बच्चा कहिले पाउने भन्ने चासो कत्तिको व्यक्त हुन्छ ?

हुन्छ । सोध्न थालेका छन् सबैले ।

१२. उहाँहरूको चाहना कहिलेसम्म पूरा हुन्छ त ?

यसबारे त हामीले अहिलेसम्म सोचेकै छैनौँ । सोच्दैनौँ पनि होला त्यतातिर । अहिलेसम्मको हाम्रो कुराकानी–छलफलअनुसार हामी बच्चा नपाउने योजनामै छौँ । टाइम म्यानेजमेन्टका कारणले मात्रै हामीले बच्चा नपाउने सोचेका हौँ ।

अहिलेसम्मको हाम्रो कुराकानी–छलफलअनुसार हामी बच्चा नपाउने योजनामै छौँ । टाइम म्यानेजमेन्टका कारणले मात्रै हामीले बच्चा नपाउने सोचेका हौँ ।
बेडमा गयो कि निदाउनुहुन्छ

१३. बिहान कति बजे उठ्नुहुन्छ ?

सात बजेभित्र उठिसक्नुहुन्छ ।

१४. चिया–कफी के रुचाउनुहुन्छ ?

उठ्नेबित्तिकै एक लिटर पानी खानुहुन्छ । चिया त उहाँले खानुहुन्न । गाईको दूध पाइयो भने मात्रै चिया खानुहुन्छ ।

१५. एक्सरसाइज कत्तिको गर्नुहुन्छ ?

समय पाउनुभयो भने नियमित गर्नुहुन्छ । घरमै जिमका सामान छन् । धेरैजसो साँझमा एक्सरसाइज गर्नुहुन्छ ।

१६. योगा पनि गर्नुहुन्छ ?

योगा, ध्यान त्यस्तो गर्ने त होइन, तर कहिलेकाहीँ युट्युबमा हेरेर आनन्द लिनुहुन्छ ।

१७. राति कतिखेर सुत्नुहुन्छ ?

काम हेरेर हुन्छ । सामान्यतया ११ बजेभित्र निदाउनुहुन्छ । बेडमा गयो कि निदाइहाल्नुहुन्छ । बेडमा कतिखेर आउनुहुन्छ भन्ने मात्रै हो ।

सामान्यतया ११ बजेभित्र निदाउनुहुन्छ । बेडमा गयो कि निदाइहाल्नुहुन्छ । बेडमा कतिखेर आउनुहुन्छ भन्ने मात्रै हो ।

मृत्युको समाचारले दुःखी बनायो

१८. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ?

पाएसम्म पढ्नुहुन्छ ।

१९. टेलिभिजनमा समाचार कत्तिको हेर्नुहुन्छ ?

टेलिभिजन त्यति हेर्नुहुन्न । अचेल अनलाइनहरूमै धेरै समाचार हेर्नुहुन्छ ।

२०. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?

उहाँको अचम्मको बानी छ । कुनै रियाक्ट नै गर्नुहुन्न । समाचार पढेर न खुसी देखिनुहुन्छ, न दुःखी नै । केही दिनअघि ‘राजेश हमालको मृत्यु’ भनेर कसले समाचार हालिदिएछ । त्यसले भने हाम्रा आफन्त र उहाँका फ्यानहरूलाई समेत दुःखी बनायो ।

२१. त्यस्तो समाचार आएपछि के भन्नुभयो त ?

उहाँले त केही भन्नुभएन । हामी त्यही दिन संयोगले डिनरका लागि बाहिर गएका थियौँ । उहाँले फ्यानहरूका लागि हाम्रो फोटो सामाजिक सञ्जालमा राख्नुभयो ।

खाजामा सात–आठ प्रकारका फलफूल

२२. बिहानको खाजामा के रुचानुहुन्छ ?

सात–आठ प्रकारका फलफूल खानुहुन्छ, कहिल्यै छुट्दैन । त्यससँगै तीनवटा उसिनेका अन्डा खानुहुन्छ ।

२३. खानामा के मन पराउनुहुन्छ ?

साग, सलाद, दाल, चिकेन, तरकारी खानुहुन्छ ।

२४. भात, रोटी खानुहुन्न ?

उहाँले भात नखाएको त वर्षौँ भइसक्यो । रोटी पनि खानुहुन्न ।

२५. दिउँसो खाजा के खानुहुन्छ ?

दुई बजे लन्च लिन्छौँ । चार बजेपछि हल्का फलफूल लिनुहुन्छ ।

२६. रातिको खानामा के खानुहुन्छ ?

सुप, सलाद, फलफूल लिनुहुन्छ ।

२७. घरमा खाना कसले पकाउँछ ?

मैले नै पकाउँछु । तेल अत्यन्त कम राखेर, नुन नराखेर खाना बनाउँछु ।

२८. नुन पनि खानुहुन्न ?

अहँ, खानुहुन्न । कहिलेकाहीँ अचारमा नुन राख्छु । थोरै खानुहुन्छ ।

२९. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ?

केही पनि गर्नुहुन्न । खानामा मात्रै होइन, कुनै चिजमा पनि कमेन्ट गर्ने बानी छैन ।

३०. खाना मीठो–नमिठो भएको केही पनि नभन्दा कहिलेकाहीँ रिस उठ्दैन ?

म पनि पकाउन एक्सपर्ट होइन, त्यसैले कमेन्ट नगरे पनि खासै नराम्रो लाग्दैन ।

३१. कहिलेकाहीँ किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ?

आउन त आउनुहुन्छ, तर केही गर्नुहुन्न । मलाई पनि उहाँ किचनमा आएको मन पर्दैन ।

३२. खाना पकाउन कति रुचि देखाउनुहुन्छ ?

खाना पकाउन त कत्ति पनि रुचि छैन ।

३३. पकाउन आउँछ कि आउँदैन उहाँलाई ?

आउँदैनजस्तो लाग्छ । कलेज पढ्दाचाहिँ चाउचाउहरू पकाउनुहुन्थ्यो रे ।

३४. भनेपछि उहाँले पकाएको तपाईंले अहिलेसम्म केही खान पाउनुभएको छैन ?

अमलेट खाएकी छु ।

३५. तपाईंले पकाएको कुन परिकार उहाँले सबैभन्दा मीठो मान्नुहुन्छ ?

हरियो साग, बोइल्ड मटन, चिकेन मन पराउनुहुन्छ

३६. तपाईंले पकाउन सिक्ने सल्लाह दिनुहुन्न ?

अहिलेसम्म त दिइएको छैन, अब सोच्नुपर्ला । उहाँको जेमा इन्ट्रेस्ट छ, त्यसमै छाडिदिन्छु । ह्यान्डसम हुनुहुन्छ, जे लगाए पनि सुहाउँ

३७. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?

उहाँले जस्तो लुगा लगाए पनि राम्रो देखिन्छ । सचेत पनि हुुनुहुन्छ ।

३८. के लगाउन रुचाउनुहुन्छ ?

टी–सर्ट, सर्ट, जिन्स मन पराउनुहुन्छ । औपचारिक कार्यक्रममा जाँदा सुट पनि लगाउनुहुन्छ ।

३९. तपाईंले कस्तो लुगामा राम्रो देख्नुहुन्छ ?

उहाँको पर्सनालिटी नै राम्रो छ । मिलेको अनुहार, राम्रो हाइट–जिउडाल, त्यसमाथि लोभलाग्दो हाँसो । ह्यान्डसम हुनुहुन्छ, जे लगाए पनि म त राम्रो नै देख्छु ।

४०. पहिरनको विषयमा तपाईंले सल्लाह कत्तिको दिनुहुन्छ ?

आफैँ भएर केही भन्दिनँ, उहाँले सोधेपछि मात्रै सल्लाह दिन्छु । तर, लुगा लगाउँदा उहाँ आफैँ जिस्किनुहुन्छ । ‘कुन लुगा लगाऊँ ?’ ‘कुन लुगामा राम्रो देखिन्छु’, ‘यो ड्रेसमा त ह्यान्डसम देखिएँ है’ भनेर जिस्किनुहुन्छ

४१. तपाईंको पहिरनबारे उहाँले कत्तिको सल्लाह दिनुहुन्छ ?

म आफैँ सोध्छु उहाँलाई । उहाँले पनि सल्लाह दिनुहुन्छ

४२. तपाईंको पहिरनको कत्तिको तारिफ गर्नुहुन्छ ?

मुखले खुलेर त तारिफ गर्नुहुन्न, तर उहाँको हेराइबाटै थाहा हुन्छ, ‘आज त राम्रै देखिएछु’ भन्ने ।

४३. कस्ता लुगा लगाउन सुझाब दिनुहुन्छ ?

तिमीलाई जुन लुगामा रुचि छ, मन परेको छ, त्यो लगाऊ भन्नुहुन्छ । यही लगाउनुपर्छ वा यस्तो लगाउनुहुन्न भन्ने हुन्न उहाँको

४४. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?

मैले त अहिलेसम्म आइरन लगाएको देखेको छैन । कलेज पढ्दा लगाउनुहुन्थ्यो कि । सर्टहरूमा कहिलेकाहीँ मैले नै गरिदिन्छु ।

४५. आफूले लगाउने लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ?

विदेश जाँदा एक सुटकेस भरेर एकैपटक ल्याएर आउनुहुन्छ ।

४६. तपाईंलाई सपिङ गर्न कत्तिको सघाउनुहुन्छ ?

उहाँलाई अल्छी लाग्छ । एकपटक बैंककमा भने एकछिनका लागि भए पनि जानुभएको थियो, तर हतारो भयो भन्नुभयो । काठमाडौंमा हुँदा मलाई पसलसम्म ड्रप गर्नुहुन्छ ।

घरखर्च ७०–८० हजार

४७. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ?

ल्याएर टेबुलमा राख्नुहुन्छ, अनि मैले नै राखिदिन्छु । घरमा एउटै ठाउँमा राख्ने गरिन्छ पैसा, आवश्यकताअनुसार जसलाई चाहिन्छ, उसले चलाउँछ ।

४८. आफूले खल्तीमा कम्तीमा कति बोक्नुहुन्छ ?

९–१० हजारजति बोक्नुहुन्छ ।

४९. घरखर्च चलाउन कति चाहिन्छ भन्ने उहाँलाई थाहा हुन्छ कि हुँदैन ?

पहिला त हुँदैनथ्यो होला, बिहेपछि थाहा पाउन थाल्नुभएको छ (हाँसो) । मैले भन्ने गरेकी हुन्छु नि त यति खर्च भयो भनेर ।

५०. महिनामा कति रकम चाहिँदो रहेछ राजेश हमालको घर चल्न ?

कम्तीमा ४० हजारजति त खानामा मात्रै खर्च हुन्छ । घरखर्चका लागि मात्रै कम्तीमा ७०–८० हजार चाहिन्छ ।

५१. उहाँको धेरै खर्च केमा हुन्छ ?

खानामा धेरै हुन्छ । एकदम स्तरीय खाना रुचाउनुहुन्छ ।

५२. उहाँको नाममा बैंक ब्यालेन्स कति छ भन्ने तपाईंलाई थाहा छ कि छैन ?

थाहा छैन । थाहा भए पनि किन बताऊँ ? (हाँसो)

५३. बताउनुस् भनेको होइन, तपाईंलाई थाहा छ कि छैन भनेर सोधेको हो ।

सबै त थाहा छैन, एउटा बैंकको चाहिँ थाहा छ (हाँसो) । त्यो पनि उहाँले बताएर होइन, मैले बैंकको स्टेटमेन्ट हेरेर थाहा पाएकी हुँ ।

५४. उहाँलाई थाहा नदिएर हेर्नुभएको ?

बैंक स्टेटमेन्टहरू उहाँले एउटा ब्यागमा राख्नुहुन्छ, मैले ब्याग खोलेर हेरेकी थिएँ । पछि उहाँले ‘मेरा कागजपत्र किन हेछ्र्यौ, नचलाऊ न’ भन्नुभयो

५५. पैसाको बारेमा परिवारमा कहिल्यै किचलो भएको छ कि छैन ?

कहिल्यै भएको छैन त्यस्तो त ।

उहाँको रिस डेन्जर छ

५६. रिसाउने बानी कति छ ?

रिसाउनुहुन्न । तर, रिसाएपछि उहाँको रिस डेन्जर छ, निकै डर लाग्छ । उहाँको भन्दा म नै धेरै रिसाउँछु

५७. कस्ता कुरामा रिसाउनुहुन्छ ?

उहाँका सामान चलायो भने रिसाउनुहुन्छ । एकपटक हाम्रो बिहे नहुँदै उहाँलाई नसोधीकन किताब लिएर गएकी थिएँ, थाहा पाएपछि निकै कराउनुभयो ।

५८. रिसाएपछि के गर्नुहुन्छ ?

कराउने गर्नुहुन्छ । अरुबेला भने निकै कुल हुनुहुन्छ । मनै परेन भने धेरै दिन नबोलेर पनि बस्न सक्नुहुन्छ ।

५९. रिसाएपछि कसले पहिला फकाउँछ ?

मैले नै फकाउनुपर्छ नि । उहाँ त फकाउने नै गर्नुहुन्न । नबोलेरै आठ–नौ दिनसम्म पनि बस्न सक्नुहुन्छ । तर, मलाई छटपटी हुन्छ, अनि फकाउँछु । म रिसाएँ भने पनि उहाँ झन् डबल रिसाउनुहुन्छ, अनि मैले नै फकाउनुपर्छ ।

६०. के भनेर फकाउनुहुन्छ ?

उहाँको गल्ती रहेछ भने सम्झाउने कोसिस गर्छु । हग गर्छु, किस गर्छु (हाँसो), त्यही त हो नि

६१. बाहिरको रिस घरमा कत्तिको रिफ्ल्याक्ट हुन्छ ?

त्यो त कहिल्यै गर्नुहुन्न । बाहिर काम गर्दा तनाव हुन्छ होला । तर, अहँ, घरमा केही देखाउनुहुन्न । बरु, हाँसेर बस्नुहुन्छ

६२. परिवारका सदस्यलाई गाली कत्तिको गर्नुहुन्छ ?

उहाँका सामान चलायो, रुटिन डिस्ट्रब भयो भने रिसाउनुहुन्छ ।

६३. तपाईंलाई कहिल्यै पिट्नुभएको छ कि छैन ?

छैन ।

६४. तपाईंले नि ?

कहिलेकाहीँ जिस्केर ‘तपाईं कत्तिको स्ट्रोङ हुनुहुन्छ’ भनेर मुड्कीले हान्छु ।

६५. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ

(हाँसो), बाहिर त ‘मधु’ भनेर बोलाउनुहुन्छ, जिस्क्याएर जे पायो त्यही भन्नुहुन्छ । तपाईंलाई बताउनै मिल्दैन ।

(हाँसो), बाहिर त ‘मधु’ भनेर बोलाउनुहुन्छ, जिस्क्याएर जे पायो त्यही भन्नुहुन्छ । तपाईंलाई बताउनै मिल्दैन ।
६६. तपाईंले नि ?

‘राजा’ भन्छु । ठकुरीहरूमा राजा नै चल्छ ।

बर्थ डे विस गर्नुहुन्न

६७. तपाईंलाई उपहार कत्तिको दिनुहुन्छ

बिहेअघि दिनुहुन्थेन, बिहेपछि वेला–वेलामा दिनुहुन्छ

६८. उपहारमा कस्ता चिजहरू दिनुहुन्छ

ब्याग, जुत्ता, सनग्लास, पफ्र्युमलगायतका सामान दिनुहुन्छ । एकपटक उहाँले ल्याइदिएको लुगा फिट भएन । त्यसपछि लुगा कम ल्याउनुहुन्छ ।

६९. जन्मदिन, म्यारिज एनिभर्सरी, भ्यालेन्टाइन डेमा विस गर्नुहुन्छ कि बिर्सनुहुन्छ ?

विस गर्नुहुन्न, तर सरप्राइज दिएर बाहिर लैजानुहुन्छ । खासमा मैले बर्थडे सेलिब्रेट नै गर्दिनँ । भ्यालेन्टाइन डे घरमै मनाउँछौँ, सबै भ्यालेन्टाइन डे छ (हाँसो) । एनिभर्सरीमा उहाँलाई मन पर्ने परिकार पकाएर सेलिब्रेट गर्छौँ ।

७०. उहाँले ल्याइदिएको तपाईंलाई सबैभन्दा मन परेको उपहार कुन हो ?

उहाँले दिनुभएका सबै उपहार मन पर्छन्, सबै राखेकी पनि छु ।

७१. तपाईंले कत्तिको दिनुहुन्छ ?

बिहेअघि त दिन्थेँ । तर, अचेल दिएको छैन (हाँसो)

७२. तपाईंले दिएको उहाँले एकदमै मन पराएको उपहार कुन हो ?

बिहेअघि नै साइकल गिफ्ट गरेकी थिएँ । उहाँले धेरै चलाउनु पनि भयो ।

२५–३० को उमेरमा बियर धेरै खानुभयाे

७३. चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ?

खानुहुन्न

७४. कहिल्यै खानुभएन, कि छोडेको ?

कहिल्यै खानुभएन रे ।

७५. रक्सी कत्तिको खानुहुन्छ ?

२५–३० वर्षको उमेरसम्म बियर धेरै खानुहुन्थ्यो रे । अचेल खानुहुन्न । कहिलेकाहीँ पार्टीमा वाइनको गिलास हातमा लिनुहुन्छ । मलाई खान मन लाग्यो र खाऊँ भन्यो भने एक गिलाससम्म वाइन खानुहुन्छ ।

७६. दुईजना मातेर कहिलेकाहीँ ठाकठुक कत्तिको पर्छ ?

मात्ने गरी कहिल्यै खाएको थाहा छैन । घरमा खाँदा त सधैँ रोमान्टिक मात्रै हुन्छौँ ।

लुगा कहिल्यै धुनुभएन

७७. सहयोगी कत्तिको हुनुहुन्छ ?

घरायसी काममा बाहेक सल्लाह–सुझाब दिने तथा अरू काममा सहयोग गर्नुहुन्छ ।

७८. कहिल्यै तपाईंका लुगा धोइदिनुभएको छ ?

(हाँसो) आफ्नो त धुनुहुन्न, मेरो लुगा के धोइदिनुहुन्थ्यो र !

७९. घरमा सहयोग माग्नेहरू कत्तिको आउँछन् ?

एकदम धेरै आइरहेका हुन्छन्

८०. कस्तो सहयोग माग्ने धेरै हुन्छन् ?

कतिले काममा लगाइदिनुपर्यो भन्छन्, कोही पैसा माग्ने पनि हुन्छन् । फेसबुकबाट ‘मलाई घरमा काम गर्न राख्नुपर्यो’ भन्ने केटीहरू पनि हुन्छन्

८१. राख्नुभएको छ त त्यस्ता केटीहरूलाई ?

फेसबुकबाट त्यस्तो भन्ने केटीहरूको कसरी विश्वास गर्न सकिन्छ र ? काम गर्ने कि फेसबुक चलाएर बस्ने ? अचेल सबैलाई कहाँ विश्वास गर्न सकिन्छ ।

८२. पैसा माग्नेलाई कत्तिको सघाउनुहुन्छ ?

सकेको सहयोग गर्नुहुन्छ ।

राम्रो नाच्न आउँदैन

८३. सिनेमा हेर्न कति मन पराउनुहुन्छ ?

हेर्नुहुन्छ, तर हलमै गएर प्रायः कम हेर्नुहुन्छ ।

८४. कस्ता सिनेमा रुचाउनुहुन्छ ?

रियालिस्टिक । लाइफस्टाइलसँग जोडिएका सिनेमा मन पराउनुहुन्छ

८५. बुढाबुढी हलमै पुगेर सिनेमा कत्तिको हेर्नुहुन्छ ?

कहिलेकाहीँ जान्छौँ ।

८६. टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?

हेर्नुहुन्न, न्युज मात्रै हेर्नुहुन्छ । म पनि हेर्दिनँ ।

८७. गीत कत्तिको सुन्नुहुन्छ ?

त्यति धेरै त सुन्नुहुन्न । एउटा अंग्रेजी गीत छ, उहाँले वेला–वेला सुन्नुहुन्छ

८८. नाँच्न आउँछ कि आउँदैन ?

त्यति धेरै त आउँदैन, तर त्यस्तै मन पर्छ मलाई ।

८९. तपाईं राम्रो नाच्नुहुन्छ कि उहाँ ?

म त झन् उहाँको जत्ति पनि जान्दिनँ ।

पत्रकारले चिनेनन्, विदेशी केटी भने

९०. देशको स्टार कलाकार हुनुहुन्छ ?

महिला फ्यान पनि धेरै होलान् नि ? धेरै छन् नि ।

९१. उनीहरूको बारेमा तपाईंलाई बताउनुहुन्छ कि बताउनुहुन्न ?

सबै कुरा भन्नुहुन्न । सधैँ मलाई बताएर साध्य पनि हुँदैन ।

९२. महिला फ्यानले पेटमा बच्चा चिनो दिनसमेत प्रस्ताव गरेको उहाँले नै मिडियालाई बताउनुभएको छ । अरू धेरै प्रेम प्रस्ताव गर्ने फ्यानहरू पनि होलान् । तपाईंले चासो दिनुहुन्न ?

बिहे हुनुभन्दा पहिला त चासो राख्थे, तर अचेल धेरै कम भएको छ । शंका लाग्ने तरिकाले चाहिँ कहिल्यै सोचिन्न ।

९३. बिहेअघि चाहिँ किन नि ?

चिन्ता हुन्थ्यो नि यत्रो सुपरस्टार मान्छे । प्रेमप्रस्ताव राख्ने थुप्रै केटीहरू हुन्छन्, बिहे पनि भएको छैन, आफू असुरक्षित त छैन भन्ने चिन्ता लाग्ने रहेछ क्या । सबैलाई लाग्छ नि यस्तो चिन्ता त ।

९४. तपाईंहरूको अफेयर लामो समय गुपचुपमै रह्यो नि, मिडियाबाट कसरी बच्नुभयो ?

हामी सँगै हुँदा पनि मिडियाका साथीहरूले देखेका हुन्थे । फोटोहरू पनि खिचेका थिए । तर, म केही बोलिनँ । उनीहरूले हामीलाई चिनेनन् । बरु, भोलिपल्ट ‘राजेश हमाल विदेशी केटीसँग देखिए’ भनेर समाचार आयो । समाचार पढेर आफैँलाई खुब हाँसो लाग्यो ।

९५. बिहेअघि उहाँको नाम धेरै महिलाहरूसँग पनि जोडिएको थियो नि ?

उहाँको राम्रो बानी के छ भने पहिला उहाँसँग अफेयर भएकाहरूको बारेमा पनि सबै बताउनुभएको थियो । त्यस्तो सम्बन्ध भएका एक–दुईजना मात्रै हुनुहुन्थ्यो, दुवै जना विदेशी हुनुहुन्थ्यो । दुवैलाई म चिन्छु ।

९६. नेपाली सिने क्षेत्रकै हिरोइनहरूसँग पनि उहाँको नाम जोडियो नि ?

नाम त जोड्नेले अहिले पनि जोडिरहेका हुन्छन् नि । समाचार–गसिपमा आउने त्यस्ता कुराहरू मैले पनि सुनेकी हुन्छु । तर, उहाँले हाम्रो रिलेसनलाई अप्ठ्यारो नपार्ने सबै कुरा बताउनुभएको छ । उहाँ त्यस्तो मान्छे होइन ।

९७. यस्तै कुराले बुढाबुढीबीच कहिल्यै खटपट परेको छ कि छैन ?

छैन ।

९८. उहाँको न्युड फोटो पनि सार्वजनिक भयो नि एकपटक ?

थाहा छ, उहाँले नै बताउनुभएको थियो । डाक्टरलाई देखाउन उहाँले फोटो खिच्नुभएको फोटोको नेगेटिभ घरबाटै थाहा नदिएर लगिएको हो रे।

राजनीतिप्रति धेरै चासो छ

९९. घरमा भएका वेला राजनीतिक कुराकानी कत्तिको गर्नुहुन्छ ?

उहाँलाई राजनीतिमा एकदमै रुचि छ । कुराकानी पनि गर्नुहुन्छ । मलाई पहिला केही थाहा हुँदैनथ्यो, रुचि पनि थिएन । अचेल उहाँले भनेपछि बुझ्न थालेकी छु ।

१००. तपाईंको कुरा कत्तिको मान्नुहुन्छ ?

भन्न त जे कुरामा पनि ‘ओके’ भन्नुहुन्छ । तर, आफूलाई ठीक लागेको गर्नुहुन्छ । मैले भनेको पनि गर्नुहुन्छ, तर समय लगाउनुहुन्छ । मलाई तत्काल हुनुपर्ने हुन्छ ।

१०१. रोमान्टिक कत्तिको हुनुहुन्छ ?

एकदम रोमान्टिक हुनुहुन्छ । बरु, म मुढी छु । घरमा त उहाँ जतिवेला पनि रोमान्टिक मुडमा देखिनुहुन्छ । जिस्क्याउने, नाचेर देखाउने, जोक सुनाउने गर्नुहुन्छ । एक्सरसाइज गर्दा सास फुल्यो भने गीत गुनगुनाउन थाल्नुहुन्छ । तर, यही गीत भन्ने हुँदैन, आफैँ बनाएर फन्नी गाउनुहुन्छ । नयाँ पत्रिकाले छापेको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment