३२ वर्षीया शारदा शर्माले गाईपालनबाटै मासिक ७० हजारभन्दा बढी आम्दानी गर्छिन



नेपालगन्ज | कोहलपुर १२ चप्परगौडीकी ३२ वर्षीया शारदा शर्माको सिर्जनशील गाई फर्ममा १५ मध्ये ६ दुहुना छन् । उनको फर्मबाट करिब ६० लिटर दूध उत्पादन हुन्छ । उनले गाईपालनबाटै मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेकी छन् ।

खर्च कटाएर महिनामा ४० देखि ६० हजारसम्म बचत हुने गरेको उनको भनाइ छ । फार्ममा ६ गाई ब्याउने छन् । स्नातकोत्तर गर्दै गरेकी शर्माले पुख्र्यौली व्यवसायलाई व्यावसायिक बनाएर बाँसगडीमा २ बिगाहा र कोहलपुरमा १० धुर जग्गा र घडेरी जोडिसकेको बताइन् । फार्मका लागि चाहिले घाँसका लागि उनले २ बिघा जग्गा भाडामा लिएकी छन् ।

‘घरको सबै खर्च र दुई भाइको पढाइ खर्च यही आम्दानीले धानेको छ । वार्षिक ६ लाखसम्म आम्दानी हुने उनले सुनाइन् । स्नातक तह उत्तीर्णपछि विभिन्न स्थानबाट जागिरका लागि बोलाइए पनि व्यावसायिक पशुपालनको रहर सानैदेखि भएकाले कतै गइनँ,’ अविवाहित शर्माले भनिन्, ‘दूधका लागि बजारको समस्या नभएकाले र घरका सबै जना फार्मकै काममा लाग्दा काम गर्न सजिलो भएको छ ।’ यहाँ उत्पादित दूध नजिकैको पसल र डेरीमा खपत हुन्छ । उनी नेतृत्वको फार्मलाई बाबु, आमा र दुई बुहारीले सघाइरहेका छन् । उनले जागिरभन्दा आफ्नै व्यवसायले सन्तुष्टि दिइरहेको जनाइन् । ०६६ देखि व्यावसायिक पशुपालन गरिरहेकी उनले आफ्नो फार्मलाई वातावरणमैत्री बनाउँदै लगेको बताइन् । नेपाल चिल्ड्रेन एजुकेसन प्रोग्रामको अध्यक्षसमेत रहेकी शर्माले समाजसेवा र व्यावसायिक पशुपालनलाई सँगसँगै लगेकी छन् ।

त्यस्तै चिसापानी ९ की मीना मल्ल, खजुराकी तुलसा खरेल, फत्तेपुरकी गंगा शाह, रझेनाकी रमिला थापा, खजुराकै विमला डाँगी, बेलभारकी गीताकुमारी मौर्यले पशुपालनमार्फत राम्रो आम्दानी गरिरहेका छन् । पछिल्लो समय बजारको सहज पहुँच, पशुपालन व्यवसायमा सरकारी अनुदानमा वृद्धि, घाँसको खेती विस्तार, बिमाको व्यवस्थाले पशुपालनतर्फ आकर्षण बढेको हो । जिल्ला पशु सेवाका अनुसार पशुपालनमा महिलाले मासिक २० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । जानकी गाउँपालिका ३ इन्द्रपुरकी टिना थापाले यही पेसामार्फत महिलाहरू आत्मनिर्भर बन्दै गएको बताइन् । उनले डेढ वर्षदेखि गाउँमै रुकुमेली गाई फार्म सञ्चालन गरेकी छन । ‘आफ्नै व्यवसाय सञ्चालनले आत्मसन्तुष्टि र मनग्गे आम्दानी भएको छ,’ थापाले भनिन्, ‘पशुपालनका लागि नयाँ प्रविधिको विकास, कम परिश्रममा राम्रो आम्दानी र बजारको सुनिश्चितता भएपछि आकर्षण बढै गएको हो ।’ फार्ममा ५ उन्नत जातका गाई पालिरहेकी थापाले मासिक ३० हजारसम्म आम्दानी हुने गरेको बताइन ।

जिल्ला पशु सेवा कार्यालयले पशुपालनमा आकर्षण बढाउन घाँसको बीउ वितरण, बेर्नामा अनुदान, कृत्रिम गर्भाधान, पशु बिमा, खोप सेवालगायतका सेवा दिइरहेको जनाएको छ । वरिष्ठ पशु चिकित्सक डा. बेदबहादुर केसीले जिल्लाभर एक सयभन्दा बढी महिलाहरूले व्यावसायिक पशुपालन गरेर मनग्गे आम्दानी गरिरहेको बताए । उनका अनुसार पशुपालन व्यावसायलाई वातावरणमैत्री बनाउन चालु आवमा १० वटा फार्मलाई एक/एक लाखका दरले अनुदान वितरण गरिएको छ । फार्मलाई डालेघाँसको प्लान्टेसनयुक्त बनाउन, वातावरणमैत्री गोठ निर्माण गर्न र तापक्रममैत्री बनाउन अनुदान वितरण गरिएको हो कान्तिपुरमा खबर छ  ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment