क्यान्सरबाट बच्न खानैपर्ने खानेकुराहरु

विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ । अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार वर्षेनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुनेगर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नसा रोगपछि मानिसको ज्यानै लिने दोस्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ ।


रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उपयुक्त हुन्छ । क्यान्सर रोग नियन्त्रण गर्न सकिन्छ तर यसको लागि यो रोगको बारेमा पूर्ण जनचेतना जाग्नु आवश्यक छ । फलफूल तथा सागपात धेरै सेवन गर्नु, मदिराजन्य तथा र्सुिर्तजन्य पदार्थको सेवन नगर्नु र चिल्लो र बोसोयुक्त खानाको सेवन कम गर्नु नै क्यान्सर रोगबाट बच्ने राम्रो उपाय हो । एक तथ्यांक अनुसार महिलामा करीब ६० प्रतिशत र पुरुषमा करीब ४० प्रतिशत क्यान्सरको कारक नै असन्तुलित भोजन रहेको छ । आमासय, सानो आन्द्रा, मुख, कलेजो, अण्डासय, पित्तथैली लगायतको क्यान्सर भोजन स“ग संवन्धित रहेका हुन्छन् ।

हरियो सागपात, पहेलो फलफूल तथा गेडागुडी र फाइवर जन्य खाद्य पदार्थको सेवन गर्ने र नियमित कसरत गर्ने व्यक्तिलाई क्यान्सरको जोखिम कम रहेको वैज्ञानिक प्रमाणहरुले देखाएका छन् । फाइबर जन्य भोजनले स्तन, र आन्द्राको क्यान्सरबाट बचाउछ । खानामा भएको फाइबरले कार्सिनोजेनलाई निष्क्रिय पार्ने, तथा बोसो र विषको मात्रालाई घटाउने गर्छ । भिटामिन ए अर्थात क्यारोटिन भएका हरियो सागपात र पहेलो फलफूलले क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छन् । बन्दामा पनि क्यान्सर प्रतिरोधी तत्व रहेको हुन्छ जसले स्तन क्यान्सर रोक्न सहयोग गर्छ । भटमासमा भएको प्रोटियज नामको तत्वले फोक्सो, मुख, आन्द्रा तथा कलजोको क्यान्सरको वृद्धी रोक्न सहयोग गर्छ ।

कांक्रोमा रहेको एक तत्वले पनि स्तन तथा गर्भासयको क्यान्सर लाग्नबाट बचाउ“छ । लसुनमा भएको सल्फर तत्वले पनि कार्सिनोजेन लाई निष्क्रिय पार्ने र क्यान्सर गराउने इन्जाइमहरुको कार्य रोक्ने गर्छ । सुन्तला, कागती लगायतका अमिला फलफूलहरुमा समेत करीब ८० भन्दा बढी क्यान्सर प्रतिरोधी तत्व विद्यमान रहेको हुन्छ । जसको सेवनबाट पेटको क्यान्सरबाट बच्न सकिन्छ । मुला, सलगम, ब्रोकाउली, सखरखण्ड, आप, केरा, मेवा, फर्सी, केराउ लगायतका तरकारी तथा फलफुलमा भएको बिटा क्यारोटिन नामक पदार्थले क्यान्सर गराउने विभिन्न तत्व हरुलाई निष्क्रिय पार्न महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । कागती, सुन्तला, अंगुर, काउली, गोलभेडा तथा आलुमा पनि क्यान्सर प्रतिरोधी गुण रहेको हुन्छ ।

भिटामिन इ भएका खानेकुराको सेवनले पेट, प्यांक्रियाज तथा मुत्रनलीको क्यान्सर हुनबाट बचाउछ । भटमास र अन्य तैलिय गेडागुडीको सेवनले कलेजोको क्यान्सरको जोखिम कम गर्छ । विभिन्न अध्ययन हरुले पनि के देखाएका छन् भने प्राकृतिक र साकाहारी भोजन गर्नेहरु मांसाहारी तथा आधुनिक भोजन गर्नेहरु भन्दा कम क्यान्सरको जोखिममा रहेका हुन्छन् । अर्थात समग्रमा भन्ने हो भने क्यान्सरबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनैपर्ने हुन्छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment