चौथौ एकिकृत बस्तिको घोषणा गरेका धुर्मुस यस्ता सपना देखेर झस्किन्थे

सीताराम कट्टेल ‘धुर्मुस’कलाकार
सपना त जिन्दगीमा धेरै देखिए । तर, स्कुले जीवनदेखि काठमाडौं आउने संघर्षताका बढी सपना देख्थेँ । दुई–तीनवटा सपना अहिले पनि ताजै लाग्छ । ५–६ कक्षामा पढ्दा पटकपटक देख्ने गरेको एउटै सपनाको याद भइरहन्छ । चारबाट पाँच कक्षामा जाँदा पहिलोपल्ट दोस्रो भएको थिएँ । त्यसपछि एसएलसीसम्म लगातार दोस्रो स्थानमा कायम रहेँ । दोस्रो भएकाले होला मलाई कक्षाको टोलीनेता बनाइएको थियो । तर, ममा भने ‘कन्फिडेन्स’ थिएन । हरेक रात सुत्नुअघि भोलिको चिन्ताले सताउँथ्यो । भोलि कसरी कक्षा ‘ह्यान्डिल’ गर्ने भन्ने सोच आउँथ्यो । यही असरले होला सपनामा खाली शिक्षकहरूले थर्काइराखेको र आफू भने रोइरहेको सपना देख्थेँ । कहिले त ठूलो छाँगाबाट हामफालेजस्तो सपना पनि देख्थेँ ।


झापाको गौरादहमा सामान्य किसान परिवारमा जन्मिएकाले दुःख नै थियो । गाउँले जीवनमा गर्नुपर्ने सबैखाले काम मैले पनि गर्नुप¥यो । खेत जोत्ने काम बढी गर्थें । १३–१४ वर्षको त्यो उमेरमा छिमेकीको भन्दा धेरै जोत्नुपर्ने रहर हुन्थ्यो । सातदेखि १० कक्षासम्म पढ्दा धेरै खेत जोतियो । बेलुका स्कुलको गृहकार्य पनि गर्नुपर्ने अनि बिहान पनि ५ बजेदेखि नै हलो जोत्नुपर्ने भएकाले शारीरिक थकान धेरै हुन्थ्यो । तर, थकान जति नै भए पनि काममा कहिल्यै कमजोर हुन मन नलाग्ने स्वभाव थियो । भोलिपल्ट जोत्नुपर्ने मेलोबारे अघिल्लै राति सोच्न थाल्थेँ । छिमेकीले भन्दा एउटा गह्रो बढी जोत्नुपर्छ भन्ने धारणा बनाएर सुत्थेँ ।

आफैँले निम्त्याएको दबाबले आफैँलाई तनाव भयो । यो समयमा जहिल्यै आफूभन्दा छिमेकीले बढी जोतेको सपना देख्न थालेँ । यस्तो सपना देख्न थालेपछि झस्किएर बिहान ३ बजे नै ब्यँुझिन थालेँ । अनि चाँडै नै गोरु फुकाएर खेतमा पुग्दा सबैभन्दा चाँडै मै हुन्थेँ । फाँटमा आफूले नै पहिला मेलो सुरु गर्न पाउँदा खुसी लाग्थ्यो ।

१६–१७ वर्षको भएपछि कलाकारिताको भोक जाग्न थाल्यो । चित्र बनाउनतिर सक्रिय भएँ । यही क्रममा काठमाडौं आउने रहर जाग्यो । यही हुटहुटीमा काठमाडौं आउने रहर बोकेर काठमाडौंका लागि धरानबाट कोशी यातायातको टिकट काटँ । भोलि काठमाडौं जाँदै छु भनेपछि अघिल्लो रात मनमा धेरै कुरा खेले । निदाउन गाह्रो भयो । त्रिशूली किनारको सडकबारे गाउँमा सुन्दै आएको कुरा मनमा खेले । डरलाग्दो सडक छ, खस्यो भने बाँच्ने त के लास भेटिने आशा पनि हुँदैन भन्थे । नयाँ पत्रिकाले छापेको छ ।

यस्तै कुरा खेलाएर सुतेँ । केहीबेरको सुताइमा पनि डरलाग्दा सपना देखेँ । म चढेको गाडी खोलामै खस्लाजस्तो भइरहेको थियो । खोलो आएर गाडी नै डुबाउलाजस्तो हुँदा सबै चिच्याइरहेका थिए । यस्तो सपना देखेको म भोलिपल्ट सकुशल काठमाडौं आइपुगेँ । तर, काठमाडौंमा पहिलो पाइला टेकेकै रात दरबार हत्याकाण्ड भयो । बिहान उठेर अकस्मात् त्यो घटना सुन्दा मैले अघिल्लो राति देखेको सपना स्मरण गरँ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment