म भोटेनी हुँ सो मलाई कसैले भोटेनी भन्छ भने म रिसाउँदिन : कमली वाइवा

नायिका कमली वाइवा आफू तामाङ हुनुमा गर्व लाग्ने बताउँछिन् । तामाङ फिल्मलाई छोडेर हेर्ने हो भने नेपाली भाषाका फिल्ममा तामाङ कलाकारको बाहुल्यता निकै कम रहेको छ ।

त्यसमा पनि तामाङ जातिका नायिकाको त खडेरी नै परेको छ भन्दा अत्तियुक्ती नहोला । कमलीले ‘शब्द’ नामक फिल्ममा नायक सौगात मल्ल सँग एकसाथ अभिनय गरेकी छिन् । फिल्मको चर्चा अचेल चुलिदो छ । पौष २९ रिलिज फिल्मकी नायिका वाइवा सँग फिल्मीकुराले लिएको अन्तर्वार्ताको सार संक्षेप :



नयाँ नौलो के छ ?
‘शब्द’ फिल्मको प्रमोशनमै व्यस्त छु । अष्ट्रेलियामा पनि फिल्म पौष २९ गते नै रिलिज हुँदैछ । यसको लागि तयारी गर्दैछु । निकै एक्साइटेड छु । यो फिल्मले मलाई चलचित्र क्षेत्रमा कमली वाइवा भनेर एउटा राम्रो परिचय दिन्छ भन्नेमा विश्वस्त छु ।

तपाईले यस अघि दुईवटा फिल्ममा काम गर्नुभयो तर प्रायले डेव्यू फिल्म नै यहि हो भनेका छन् नी ।
हो, प्रायले मलाई डेव्यू नायिका भन्नुभयो । त्यसो चाहि नभन्दा राम्रो होला की भन्ने लाग्छ । किनकी मैले यस अघि दुईवटा फिल्म ‘भीदत्त’ र ‘कहि दिन कहि रात’ मा अभिनय गरिसकेको छु । यस हिसाबमा मेरो यो तेस्रो फिल्म हो । डेव्यू चाहि मैले ‘भीमदत्त’बाट गरेको हुँ । त्यसमा थोरै रोल भएकाले मलाई दर्शकले मार्क नगर्नु भएको हुन सक्छ ।

सौगात मल्ल सँग काम गर्नुभयो । अहिले तपाईको चर्चा चुलिदो छ । कस्तो लाग्दैछ ?
फस्टफल त उहाँसँग नाम जोडेर थुप्रै न्यूजहरु आए । मलाई निकै खुसी लाग्यो । उहाँ जतिको हुन त मैले धेरै स्ट्रगल गर्न बाँकी छ । उहाँ जतिको हुन त म सक्दिन । मलाई सुटिङको समय पनि थुप्रै कुरा सिकाउनु भयो । नजानेको कुरा यसरी गर भनेर सहि मार्ग देखाउने उहाँको सरल व्यवहारबाट म निकै प्रभावित पनि भए ।

हेलिकप्टर चढेर सौगातलाई सामागाउ लिन जानु भयो है ?
‘शब्द’ प्रोडुसरले सौगातलाई एउटा सप्राइज दिउ भन्नुभयो । सौगात त्यतिबेला सामागाउँ ठाउँमा ‘बमकाजी’को सुटिङमा व्यस्त हुनुहुन्थ्यो । म हेलिकप्टर चार्टर गरेर सौगातलाई लिन पुगे । वास्तवमा उहाँलाई काठमाडौं सम्म ल्याउनको लागि म हेलि चार्ट गरेर त्यहा गएको थिए । उहाँलाई ल्याउनुको कारण भने अष्ट्रेलियामा फिल्म लाग्ने भएपछि उहाँको भिजा प्रोसेस् मिलाउनका लागि थियो ।

हेलिकप्टर चढ्दा कस्तो महसुस गर्नुभयो ?
फस्ट टाइम चढेको । डरै डर । कहिले यता हल्लाउछ कहिले उता हल्लाउछ । लडिन्छ कि जस्तो लाग्ने । ढोका र झ्याल खुल्लै नै हुँदा रहेछ । एयरफोन जस्तो लगाउन दिनुहुदोहेछ कानमा । आकाशमा उड्दै गर्दा चाहि कहाँ गएर ठोक्किने होला भन्ने मनमा लागि रह्यो मलाई त । निकै सकस फिल भयो मलाई चढुन्जेल । नर्भस् र डेन्जर फिल हुँदोरहेछ ।

अष्ट्रेलिया कुन दिन जादै हुनुहुन्छ ?
फाइनल्ली भिजा आयो । सौगात र म पौष २६ गते अष्ट्रेलिया उड्दैछौ । २९ गते फिल्म शो हुन्छ । फिल्म चार वटा ठाउँमा लाग्दैछ । मेलवर्न र सिड्नीमा हामी सहभागी हुन्छौ । समय मिले सम्म फिल्म लागेको अर्को ठाउँमा नी सहभागी हुन्छौ ।

फिल्मको टाइललाई लिएर आम पाठकमा ज्ञिजासा हुन सक्छ । के हो शब्द भनेको ?
‘शब्द’ को अर्थ के हो भनेर थाहा पाउन त हल सम्म गएर फिल्म नै हेर्नुपर्छ । तर म अहिलेलाई यति भन्छु कि यो फिल्म ग्रामिण परिवेशको कथामा आधारित छ । माया, प्रेम, गीत संगीत सबै कुराले मसलेदार बनेको छ । फिल्मको नेपालीले मान्दै आएको कल्चरलाई प्रिजेन्ट गरेका छौ । संस्कृति विस्तारै लोप हुँदै गइरहेको छ । गुरुङ संस्कृतिको कुरालाई हामीले फिल्ममा देखाउन खोजेका छौ ।

तपाईको नाम बडो गज्जबको छ । कसले राखिदिएको हो खास यो नाम ?
म काठमाडौंमा जन्मे । यो नाम चाहि मेरो दिदीले जुराउनु भएको हो । दिदीलाई चाहि कमली भन्ने नाम एकदमै मन परेकोले बहिनीको नाम यहि राख्ने भनेर जिद्धि गर्नु भएछ । पछि कुरा बुझ्ने भएपछि मलाई चाहि कस्तो नाम राखिदिएको होला जस्तो लाग्थ्यो । सबैले कमली कमली भन्थे ।

म पछि उच्च अध्ययनको लागि हङकङ गए । त्यहाँका मान्छेले कमली भनेर बोलाउदा कति राम्रो सँग उच्चारण गर्थे मेरो नाम । अनि विस्तारै मलाई पनि यो नाम मनपर्न थाल्यो । नेपाली नाम पनि यस्तो हुन्छ र भनेर मलाई त्यहा प्रश्न गर्थे । जे होस् यूनिक नाम छ भनेर मलाई मख्ख पार्थे हङकङमा ।

फिल्ममा समावेश ‘गुलेलीले हान्दिउ कि’ गीतलाई दर्शकले निकै मन पराएका छन् । यो गीतमा नाच्दाको एक्सपिरियन्स् चाहि कस्तो रह्यो ?
पहिला चाहि म क्लासिकल डान्सर नै हो । बीचमा मैले कुनै नृत्य सिकिन् । कम्मर मर्काउन एकदमै गाह्रो भयो । यो गीतको सुटिङ गर्दा मलाई त ज्वरो नै आएको थियो । युट्युवमा कतिले त नराम्रो कमेन्ट पनि गर्नु भएछ ।

मलाई स्विकार्य छ यी सब कुरा । आगामी खेल्ने फिल्ममा अझ म नृत्यलाई सुधार्नेछु भन्न चाहान्छु । कोरियोग्राफर प्रदीप श्रेष्ठ दाईले निकै मिहेनत गर्नु भएको छ । गीत राम्रो बनेको छ । एक्स्पिरियन्स निकै राम्रो रह्यो ।

तपाई तामाङ हुनुहुन्छ । तामाङ भाषा कतिको आउँछ ?
हाँस्दै (हा….हा…) झम्मान खाबा । जे होस् आफ्नो भाषा बोल्न नआउने भन्ने कहाँ हुन्छ र । मलाई आउँछ बोल्नलाई ।

कतिले जातको पछि शब्द जोडेर बाहुनी, भोटेनी, शेर्पेनी ट्याग लगाइ दिने गर्छन् तपाईलाई कस्तो लाग्छ ?
मलाई त त्यस्तो केही लाग्दैन । म भोटेनी हुँ । मलाई कसैले भोटेनी भनेर बोलाउँछ भने म खुसी साथ बोलिदिन्छु ।

कतिले मलाई नेवानी हो भनेर पनि सोधेका छन् । पहिला चाहि नाक छेडेको थिन् मैले । अर्को कुरा चाहि के भने नामैले बोलाउँदा राम्रो हुन्छ । म भोटेनी हुँ सो मलाई कसैले भोटेनी भन्छ भने म रिसाउँदिन । विदेशमा त कुन जातको हो भनेर खासै सोध्ने पनि गरिदैन ।

बाहिर बस्न थालेको कति भयो ?
म सन् २००० मा गएको । भयो नी १६ वर्ष । पढाइको सिलसिलामा गएको हुँ । दुःख पनि पाइयो । १५ घण्टा दैनिक उभिएर काम पनि गरियो । वेटर पनि बनियो । तर मलाई कलाकार हुने सानै देखिको रहर भने जवान हुँदा पनि यथावत नै रहेकाले बचेको समय फिल्म खेल्न म उद्धत भए ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment