काठमाडौं, १६ जेठ, सरकारले दुई छिमेकी चीन र भारतसँग समदूरीको सम्बन्ध कायम गर्ने उल्लेख गर्दै दुवै छिमेकीको आर्थिक विकासबाट लाभ लिन सक्ने नीति अख्तियार गरिने जनाएको छ ।
अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार घोषणा गरेको आव ०७४–७५ को बजेटमा छिमेक सम्बन्ध महत्वसाथ उल्लेख गरिएको छ ।
दुवै छिमेकीले गरेको आर्थिक विकासबाट लाभ लिने नीति सरकारले लिएको बजेटमा उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चीनसँग रेल, सडक, पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउने गरी एक महिनाअघि ‘बेल्ट एन्ड रोड’ अवधारणामा हस्ताक्षर गरेको थियो ।
त्यस्तै, भारतसँग पनि रेल, सडकलगायत कनेक्टिभिटी परियोजनालाई गति दिने गठबन्धन सरकारको धारणा आएको छ ।
गठबन्धन सरकारले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्ने उल्लेख गरेको छ ।
वर्तमान सत्ता गठनबन्धन कायमै रहने हुँदा अब गठन हुने सरकारले परराष्ट्र सम्बन्ध सञ्चालनमा अहिलेकै सरकारले अघि बढाएको नीति लिनेमा विश्वस्त रहेको सरकारी अधिकारीले बताए ।
मुलुकको आर्थिक विकासका लागि यस्तो नीति बनाउन लागिएको उल्लेख छ ।
सरकारले विभिन्न मुलुकसँग व्यापार, लगानी, पर्यटन, श्रम, वातावरण र प्रविधि क्षेत्रमा सहयोग अभिवृद्धि गर्न देशगत रणनीति तयार गर्ने भएको छ ।
बजेट भाषणमा अर्थमन्त्री महराले बजेटमा सरकारले परराष्ट्र सम्बन्ध प्रभावकारी बनाउँदै विश्व रंगमञ्चमा नेपालको उपस्थिति सारपूर्ण बनाइने उल्लेख गरे ।
विदेशस्थित नेपाली नियोगलाई आर्थिक कूटनीति, श्रम कूटनीति, पर्यटन कूटनीति र व्यापार कूटनीति सञ्चालन गर्न क्षमतावान् बनाइने सरकारले जनाएको छ ।
उच्चस्तरीय भ्रमणका क्रममा चीन र भारतसँग भएका सहमति, सन्धि र समझदारीअनुरूप परियोजना निर्माण प्राथमिकतासाथ अघि बढाउने मन्त्री महराले उल्लेख गरे ।
विद्युतीय राहदानी ई (पासपोर्ट) का लागि आवश्यक पूर्वाधार तयार गरिने मन्त्री महराले उल्लेख गरे ।
सरकारले मेसिन रिडेबल पासपोर्ट जारी गर्दै आए पनि यसलाई केही वर्षभित्रै प्रतिस्थापन गरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको सुझावअनुसार ई–पासपोर्ट लागू गर्ने नीति लिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पूर्वाधार विकास गरी विदेश नीति विश्लेषण तथा अनुसन्धान केन्द्रका रूपमा विकसित गर्दै लैजाने नीति सरकारले लिएको छ ।
मानवअधिकारका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेका प्रतिबद्धता पूरा गरिने मन्त्री महराले बताए । (अन्नपूर्ण पोष्ट दैनिकबाट)
चीन र भारतसंग यस्तो हुँदैछ नेपालको सम्बन्ध
Reviewed by adas
on
May 29, 2017
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment