भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार

भारतको नयाँ दिल्लीबाट २४ नेपाली महिलाको उद्धार गरिएको छ । कुबेत तथा युएई जाने प्रलोभनमा परेर दलालमार्फत भारत पुगेका २४ नेपाली महिलालाई उद्धार गरी बुधबार साँझ नेपाल फिर्ता पठाइएको हो । नयाँ दिल्लीको उत्तमनगर फेज–४, स्थित एक फ्ल्याटबाट हिजो साँझ पुलिसको क्राइम ब्रान्चको सहयोगमा उद्धार गरिएका उनीहरुलाई भारतस्थित नेपाली दूतावासले नेपाल फिर्ता पठाएको हो ।

उद्धार गरिएका महिलाहरुलाई माइती नेपालको नयाँ दिल्लीस्थित भगिनी संस्था माइती इण्डियाले बिहीबार नेपालगञ्ज प्रहरीको रोहबरमा बाँकेमा रहेको माइती नेपाल संस्थामा सुम्पने र त्यहाँबाट शुक्रबारसम्म माइती नेपालको काठमाडौंस्थित केन्द्रीय कार्यालय पुर्‍याएर आफन्तको जिम्मा लगाइने माइती इण्डियाकी निर्देशक अरमिना गुरुङले जानकारी दिनुभयो ।



नेपालबाट सांसद कमलादेवी शर्माले दिएको सूचनाका आधारमा यी महिलाहरुको उद्धार गरिएको नेपाली दूतावासका काउन्सिलर ओमप्रकाश जोशीले जानकारी दिनुभयो । २४ जना मध्ये सुनिता (नाम परिवर्तन) एक महिलाले काठमाडौंमा सांसद शर्मालाई फोन गरेर कुवेत जान आएको र आफू दिल्लीमा अल्मलिएर बसेको एक साता बढी भइसकेको जानकारी गराएपछि उनलाई फर्काउन गरिएको प्रयासमा २४ महिलाहरुको उद्धार भएको जोशीले जानकारी दिनुभयो । उनीहरुको उद्धारका क्रममा त्यहाँ नदेखिएका अन्य २१ नेपाली महिलाहरुको पासपोर्ट पनि भेटिएको छ ।

भैरहवा सुनौली तथा वीरगञ्जको रक्सौल नाका हुँदै फरक–फरक मितिमा विभिन्न दलालहरुमार्फत यी महिलाहरु दिल्लीको उत्तम नगर पुर्‍याइएका थिए । नेपाल सरकारले महिलालाई अरब मुलुकमा बैदेशिक रोजगारीका लागि रोक लगाएका बेला दिल्ली हुँदै कुबेत तथा दुबई पुर्‍याइदिने प्रलोभन दिएर रमेश थापा र विजय लामा नाम गरेका व्यक्तिले उनीहरुलाई दिल्ली बोलाएको महिलाहरुले बताएका छन्। उद्धार गरिएका महिलाहरु २० देखि ४० वर्ष उमेर समूहका छन् ।

उद्धार गरिएका महिलाहरुमा कोही ६ वर्ष कुबेत बसेर फर्किएका पनि रहेको बताइएको छ । ‘नेपालबाट जान पाइँदैन, दिल्लीबाट पाइन्छ भन्ने लोभमा परेर आइयो र यसरी फँसियो,’उनीहरु मध्येकी एकले भनिन्। दिल्लीमै काम गर्ने भनेर नागरिकता र पासपोर्टबिना नै दिल्ली पुगेकी एक महिलाले रुदै अन्नपूर्णसँग भनिन्, घरमा कसैले हेर्दैन, कमाएर खान दिने कोही छ्रैन । अब के गर्ने?’ चिनेको दिदी (महिला दलाल)ले आफू पनि सँगै जान लागेको भन्दै दिल्लीसम्म पुर्‍याएर आफ्नो भिसा आयो भन्दै छोडेर गएको एक महिलाले बताइन् । उद्धार गरिएका महिलाहरु सिन्धुपाल्चोक, काभ्रे, तेह्रथुम, धनकुटा, झापा तथा चितवन लगायतका जिल्लाका रहेका छन् ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment