जसले पाउँदैनन् भोट हाल्न!

काठमाडौं, वैशाख ३१।औंला गन्दागन्दै आइपुग्यो भोट खसाल्ने दिन। स्थानीय तहका जनप्रतिनिधि छान्ने अवसर। यस्तो अवसर प्रत्येक पाँचपाँच वर्षमा आउनुपर्ने हो। तर, राजनीतिक अस्थिरताले गर्दा २० वर्षपछि स्थानीय चुनावमा भाग लिँदैछन् नेपाली। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। मतदान हरेक नागरिकको अधिकार तैपनि केही मतदाताले यो अवसर सदुपयोग गर्न नपाउने भएका छन्। मत दिन स्थानीय स्तरमै जानुपर्ने भएपछि हजारौं सरकारी कर्मचारी, म्यादी प्रहरी, वैदेशिक रोजगारमा रहेका नेपाली, कैदीबन्दी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन्। तिनैमध्येका एक हुन् देवीप्रसाद सुवेदी। सुवेदी गृह मन्त्रालयका सहसचिव हुन्। यसपटकको स्थानीय चुनावमा मत हाल्न पाउँदैनन् उनले। कारण उनी निर्वाचन अधिकृत बनेर बाग्लुङ पुगेका छन्। ‘मत हाल्ने रहर त थियो,’ उनले भने, ‘जिम्मेवारीले गर्दा रहर पूरा हुन सकेन।’ सुवेदी आफैं निर्वाचन अधिकृत भएर बाग्लुङको ताराखोला गाउँपालिकामा निर्वाचन गर्ने जिम्मेवारी पाएका छन्। ‘एउटा गाउँपालिकाको चुनाव गर्ने जिम्मेवारी नै पाएको छु,’ उनले भने, ‘समग्र रुपमा हेर्दा खुसी छु तर व्यक्तिगत रुपमा भने स्थानीय प्रतिनिधिलाई मत हाल्न सामेल हुन नपाएकोमा कताकता दुःख लागेको छ।’ एक नागरिक भएर हेर्दा आफूले पनि मत हाल्ने व्यवस्था भए हुन्थ्यो जस्तो सुवेदीलाई लागेको छ।
पर्वत जिल्लाको मतदाता नामवलीमा सुवेदीको नाम छ। पशुपति बस्ताकोटी नेपाल प्रहरीमा कार्यरत छन्।




शनिबार सम्पर्क गर्दा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको ‘मेट्रो कन्ट्रोल रुम’ मा निकै व्यस्त थिए उनी। यसपटकको स्थानीय चुनावमा बस्ताकोटीले पनि मत हाल्ने अवसर पाएनन्। ‘मत हाल्न जाने रहर त थियो नि सर,’ उनले भने, ‘देशको सेवामा खटेको मान्छे, मत हाल्ने कुरामा कहाँ अल्झिन भयो र।’ यद्यपि २० वर्षपछि आएको मौका सदुपयोग गर्न भने ठूलो इच्छा रहेको उनले सुनाए। बस्ताकोटीको नाम काभ्रेको मतदाता नामवलीमा छ। ‘मत हाल्न नपाउँदा मन खिन्न भएको छ,’ उनले भने, ‘चुनाव गराउनकै लागि २४सै घन्टा ड्युटीमा खट्दा भोट हाल्नुभन्दा बढी गर्व लागेको छ।’ उसो त चुनाव गराउने भूमिकामा रहँदा सिर्जना तिवारी पनि कम्ती उत्साहित छैनन् ! उनी निर्वाचन अधिकृत भएर काभ्रे मण्डन देउपुर नगरपालिका पुगेकी छन्। ‘एउटा नगरपालिकाको निर्वाचन गराउने जिम्मेवारी पाउनु मेरा लागि गर्वको कुरा हो,’ तिवारीले सुनाइन्, ‘मतअधिकार गुमेको भन्ने चिन्ता छैन।’ उनी काठमाडौंकी मतदाता हुन्। मतदान गर्न नपाएकोमा व्यक्तिगत रुपमा उनलाई कताकता खल्लो भने लागेको छ। ‘एउटा मतदाता भएर हेर्दा मतदान गर्न नपाउँदा खल्लो त लागिहाल्छ नि,’ उनले भनिन्, ‘तर मतदाता भएर मात्रै नहेरी राष्ट्रसेवक कर्मचारी भएर हेर्दा त्यस्तो केही लाग्दैन।’ सुवेदी, बस्ताकोटी र तिवारीको मात्रै कुरा होइन, पहिलो चरणमा भइरहेको तीन प्रदेशको निर्वाचनमा लाखौं मतदाता मतदानबाट वञ्चित भएका छन्। निर्वाचन आयोगका अनुसार कर्मचारी, सुरक्षाकर्मी गरी झन्डै तीन लाख जनशक्ति चुनाव गराउन खटिएका छन्।

ती सबैले मतदान अधिकार गुमाएका छन्। ‘आआफ्नो जिम्मेवारीमा त खट्नै प¥यो नि,’ आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘सबै मतदानमै लाग्ने हो निर्वाचन कसले गराउने र।’ निर्वाचन गराउनु कर्मचारीको दायित्व भएको उनले बताए। उनका अनुसार कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी र विदेशमा रहेका नेपाली लगायत मतदानबाट वञ्चित छन्। ‘जो जहाँ छन् त्यहींबाट मतदान गर्न पाउने व्यवस्था छैन,’ उनले भने, ‘यसले गर्दा धेरै नेपाली मतदान गर्नबाट वञ्चित हुँदै छन्।’ आयोगको अनुसार आइतबार हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ। यस चरणमा निर्वाचनमा करिब ४६ हजार कर्मचारी खटाइएको छ। त्यसैगरी सुरक्षाका लागि नेपाल प्रहरी करिब २२ हजार, सशस्त्र प्रहरी करिब ३० हजार, नेपाली सेना करिब ३१ हजार र म्यादी प्रहरी करिब २२ हजार छन्। यीबाहेक अन्य कर्मचारीले पनि बिदा नपाउने भएकाले मतदानबाट उनीहरु पनि वञ्चित हुने भएका छन्। नेपाली सेनाको संख्या ९० हजारको हाराहारीमा छ। सरकारले स्थानीय निर्वाचनलाई नै लक्षित गरेर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ। सशस्त्र प्रहरीमा करिब ३७ हजार जनशक्ति छ। उनीहरु सबैले मतदानको अवसर पाउनेछैन। मुलुकका विभिन्न जेलमा करिब २५ हजार कैदीबन्दी छन्। यिनीहरु पनि मतदानबाट वञ्चित हुँदैछन्। त्यसैगरी विदेशमा रहेका करिब ६० लाख नेपालीले पनि नाम मतदाता नामावलीमा हुँदाहुँुदै भोट हाल्न नपाउने भएका छन्। निर्वाचन आयोगका अनुसार पहिलो चरणमा मतदान हुने ३४ जिल्लामा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका छन्। १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ३ सय ३७ जनाको उम्मेदवारी दिएका छन्।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment