खर्चालु पर्यटक भित्र्याउन र नेपाली उत्पादनको बजार विस्तार गर्न डेनमार्कमा बृहत् प्रदर्शनी

पर्यटन क्षेत्रमा प्रचुर सम्भावना भए पनि नेपाल खर्चालु र सौखिन पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सकेको छैन । तौलेर खर्च गर्नेहरू मात्र होइन, दिल खोलेर खर्च गर्ने पाहुनालाई आकर्षित गर्नकै लागि युरोपेली मुलुक डेनमार्कको राजधानी कोपनहेगनमा, ३–४ असारमा नेपाल एक्स्पो हुँदै छ । नेपाल र डेनमार्कबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको अवसरमा नेपाल एक्स्पोको चाँजोपाँजो मिलाएको हो, नेपाल हाउस कोअपरेटिभ्स, डेनमार्कले ।


एक्स्पोमा नेपाली कला, संस्कृतिको प्रदर्शनीका साथै डेनिस र नेपाली व्यापारीहरूबीच साझेदारी मार्ग पहिल्याउन बिजनेस सेमिनारसमेत आयोजना हुँदै छ । प्रदर्शनीमा नेपाली कला–संस्कृति झल्कने सांगीतिक प्रस्तुति र खानाको एकीकृत फुड फेस्टिवल पनि हुन लागेको छ । युरोपमा पहिलोपटक यति ठूलो महोत्सव आयोजना हुन लागेको दाबी गर्छन्, नेपाल हाउसका प्रमुख कार्यकारी अधिकृत पूर्ण बन्धन । उनका भनाइमा एक्स्पो डीजीआई ब्यन हलमा हुनेछ, डेनमार्ककै ख्यातिप्राप्त अन्तर्राष्ट्रिय व्यापार मेलाहरू हुने थलो हो ।

एक्स्पो तयारीका क्रममा कोपनहेनगका सडकमा गुड्ने सार्वजनिक बसहरूलाई नेपाल झल्काउने प्रचारले झकिझकाउ पारिँदै छ । यसका लागि ‘ए’ श्रेणीका ७० वटा बसमा एक्स्पोको प्रचार गर्ने व्यवस्था मिलाइएको छ । जेठको तेस्रो सातादेखि एक्स्पो अवधिसम्म कोपनहेगनमा गुड्ने सार्वजनिक बसमा त्यस्तो प्रचार देख्न पाइनेछ । “हामी कोपनहेगनलाई नेपालमय बनाउनेछौँ,” बन्धन भन्छन् ।

डेनमार्कका प्रतिष्ठित व्यक्ति, अगुवाहरूले समेत एक्स्पोलाई सघाएकाले यसबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ । नेपाल आउने डेनिस पर्यटकको संख्या बढाउन डेनमार्कका चर्चित पर्यटन व्यवसायी पियाक्याएलाई परामर्श व्यवस्थापक नियुक्त गरेको छ, आयोजक नेपाल हाउसले । पियाक्याएले नेपालमा पर्यटकको संख्या वृद्धि गर्ने योजना बनाउनेछन् । ज्ञातव्य रहोस्, पियाक्याए विश्वका ४२ मुलुकबाट डेनमार्कमा पर्यटक भित्र्याउने कम्पनी लिबर्टीका पूर्वमालिक हुन् । डेनमार्कबाट बढीभन्दा बढी पर्यटक नेपाल पुर्‍याउने कार्यभारसहित उनलाई ६ महिनाका लागि परामर्श व्यवस्थापक नियुक्त गरिएको बन्धन बताउँछन् । डेनमार्कको सबैभन्दा पुरानो र ठूलो संख्यामा नेपालमा पर्यटक भित्र्याउने किपलिङ ट्राभल्सले समेत यो एक्स्पोमा सहभागिता जनाउँदै छ ।

सगरमाथा आरोही लिने गामलगोर्डले समेत यो एक्स्पोमा काँध मिलाएकी छन् । उनी एक्स्पोकी ब्रान्ड प्रोटेक्टर हुन् । गामलगोर्ड सगरमाथा आरोही एक मात्र डेनिस महिला हुन् । उनी सन् १९९६ मा सगरमाथाको चुचुरोबाट फर्कने क्रममा पहिरोमा परेर बाँच्नेमध्येकी एक हुन् । उक्त पहिरोमा परी आठ जना आरोहीको मृत्यु भएको थियो ।

एक्स्पोमा सांगीतिक प्रस्तुतिका लागि क्रिम अफ रिदम नामक सांगीतिक समूहका दीपक बज्राचार्यसहितको टोली तयारी अवस्थामा छ । साथै, नेपालको मध्य तराईमा प्रचलित मिथिला चित्रकारिताको प्रतिस्पर्धासमेत हुनेछ । मिथिला कलाको विद्यालय र कलेजस्तरीय प्रतिस्पर्धा गराइनेछ । यसका लागि मिथिला कलाका अन्वेषक एवं चित्रकार प्रतीक रायमाझी अमेरिकाबाट कोपनहेगन ओर्लनेछन् । एक्स्पोमा करिब ३० हजार जनाको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रदर्शनी सकिएको भोलिपल्ट ५ असारमा डेनिस र नेपाली व्यापारीहरूबीच साझेदारी व्यापारका मार्गहरू खोज्न बिजनेस सेमिनार समेत राखिएको छ । यसले नेपाली उत्पादनलाई युरोपेली बजारमा कसरी विस्तारित गर्ने भन्ने सम्भावनासमेत खोज्नेछ । उक्त सेमिनारमा नाइजेरियन बहुराष्ट्रिय कम्पनी डांगोटे ग्रुपका महाप्रबन्धक तथा गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले नेपालमा उपभोग्य वस्तुको उत्पादनका सम्भावना र युरोपेली बजार विस्तारबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । काठमाडौँ गेस्ट हाउसका प्रमुख कार्यकारी अधिकृत राजन शाक्यले नेपालको उच्च हिमाली भेगमा पर्यटकीय सुविधा विस्तारसम्बन्धी कार्यपत्र पेस गर्नेछन् ।

नेपाल हाउसको नेतृत्व कोपनहेगनकी अवकाशप्राप्त दन्त चिकित्सक ७८ वर्षीया बिर्जिट नियल्सनले गरिरहेकी छन् । नियल्सन ४० पटक नेपाल आइसकेकी छन् । र, नेपालको सामाजिक सेवामा समेत योगदान पुर्‍याएकी उनलाई नेपाल सरकारले गोरखा दक्षिणबाहुको सम्मानसमेत दिइसकेको छ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment