कृषकलाई सास्ती दिँदै आएका बाँदर आतंकबाट अनुसन्धान केन्द्र पनि प्रभावित


पोखरा, साउन । लगाएका खेतीबाली खाइदिएर बाँदरले कृषकलाई सास्ती दिँदै आएका त थिए नै, कृषिकै अनुसन्धान गर्दै आएको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि यो समस्याबाट अछुतो बन्न सकेको छैन ।



विभिन्न बालीको अध्ययन तथा अनुसन्धान गर्दै आएको यो केन्द्रलाई अहिले अनुसन्धानका लागि लगाइएका बाली कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।

केन्द्रका प्रमुख तुलबहादुर पुनका अनुसार अनुसन्धानका लागि लगाइने बालीको बीउ पनि खोस्रिएर खाइदिने भएपछि बीउ लगाउँदादेखि नभित्र्याउँदासम्म बाँदरबाट जोगाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

केही समययता लुम्लेमा नयाँ प्रजातिको बाँदर देखिएको जानकारी दिँदै उहाँले धपाउँदा पनि अटेर गर्ने भएकाले बाली जोगाउन मुस्किल पर्ने गरेको बताउनुभयो ।

लुम्ले आसपासका क्षेत्रमा ठूलो संख्यामा बाँदर रहेका छन् । उहाँले बाँदर हुल बाँधेर केन्द्रमा अनुसन्धानका लागि लगाइएका बालीमा पस्ने गरेको बताउनुभयो । अनुसन्धान समेत प्रभावित पारेका यहाँका बाँदरले जिल्लाका सबैजसो ठाउँका कृषकलाई दुःख दिँदैआएका छन् ।

बाँदर आतंक हल गर्नुपर्ने सर्वसाधारणको माग बढेर गएपछि कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा यसको व्यवस्थापनका लागि रु १० लाख विनियोजन गरेको विषय यतिखेर सर्वत्र चासो र चर्चाको विषय बनेको छ ।

बाँदरबाट खेतीबाली जोगाउन नसकिएको भन्दै स्थानीयवासीबाट गुनासो आएपछि गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

बाँदरले सताएपछि कृषकहरू सम्बन्धित जिल्ला कृषि कार्यालय तथा वन कार्यालयमा नियन्त्रणको मागसहित पुग्ने गरेका छन् ।

वन्यजन्तु संरक्षण ऐनले आसामे रातो बाँदरलाई संरक्षित जनावरमा राखेको जिल्ला वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताउनुभयो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment